काठमाडौं - नेपाल चिकित्सक संघले कलेज अफ मेडिकल साइन्सेज भरतपुर शिक्षण अस्पतालमा भएको मिर्गौला प्रत्यारोपणको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
उक्त घटनाबारे कानूनी प्रक्रिया नटुंगिदै चिकित्सकको मिलेमतोमा मानव तस्करी भएको भन्ने खबर बाहिर आएको भन्दै संघले प्रेस विज्ञप्ति जारी गरी आपत्ति जनाएको हो।
संघले स्वास्थ्य संस्था र चिकित्सकले सेवा प्रवाह गर्दा गम्भीर फौदजार अपराधको दायरामा ल्याउन नहुने कुरामा पनि जोड दिएको छ।
कानून प्राप्त स्वास्थ्य संस्था र चिकित्सकले स्वास्थ्य सेवा प्रवाह गर्दा गम्भीर फौजदार अपराधको दायरामा ल्याउन नहुने संघको भनाई छ। यसो गर्दा चिकित्सकको मनोबल घट्ने र स्वास्थ्य सेवा प्रवाहमा असर पुग्ने भएकाले संवेदनशील हुन संघले आग्रह गरेको छ।
संघले सत्यतथ्य बाहिर नआउँदासम्म पक्राउ परेका चिकित्सक माथि विभिन्न लाञ्छना लगाइएको विषयमा पनि विज्ञप्ति मार्फत आपत्ति जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाबारे कानूनी प्रक्रिया नटुंगिदै चिकित्सकको मिलेमतोमा मानव तस्करी भएको भन्ने हिसाबले चिकित्सक माथि विभिन्न माध्यमबाट लाञ्चना लगाइएको प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ।’
तत्काल सत्यतथ्य बाहिर ल्याउन र अनुसन्धानलाई द्रुत गतिबाट अघि बढाउन संघले अपिल गरेको छ।
