काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ। गत २४ घण्टामा मात्र १ सय ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा झापा र खोटाङका १÷१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका १, नारायणी अस्पताल वीरगञ्जमा पर्साका ८ र रौतहटका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्लाहीका १ जनामा कोरोना भेटिएको छ।
भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका १, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौंडामा बारा, मकवानपुर र नवलपरासी पूर्वका १/१ र रौतहटका ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा पाटन अस्पताल ललितपुरमा काठमाडौं र ललितपुरका १/१, वीर अस्पतालमा बाराका २, स्टार अस्पताल सानेपामा काठमाडौंका १ जनामा कोरोना पाइएको छ।
यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका ३, कपिलवस्तुका ६ र पाल्पाका ४, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँके र बर्दियाका २/२, दाङका ५, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नवलपरासी पूर्वका ३ र तनहुँका १ जनामा कोरोना भेटिएको छ।
सुर्खेत प्रादेशिक अस्पतालमा अछामका २, कालीकोट र दैलेखका /३, हुम्लाका १, जाजरकोटका ६, मुगुका २ र सुर्खेतका ११ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए।
डडेल्धुरामा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका ४, डोटीका १३ र बैतडीका ३ जनामा कोरोना पुष्टि भएको छ।
कोरोनाको आशंकामा गत २४ घण्टामा ४ हजार ५ सय ४३ जनाको पिसिआर परीक्षण भएको छ। मुलुकभर हाल ५ हजार ३ सय ५३ जना अस्पतालको आइसोलेसन र १८ हजार १ सय ८३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।