फाइल तस्बिर
झापा- समुदायमा कोरोना संक्रमण फैलिएको आशंकामा झापाको मेचीनगरमा आइतबारबाट ‘मास टेस्टिङ’ सुरु गरिएको छ।
मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ सुरु गरेको हो । पहिलो दिन कोभिड-१९ को परीक्षणका लागि ११७ जनाको स्वाब संकलन गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिए।
गत शुक्रबार काँकडभिट्टामा कार्यरत २० जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएपछि मेचीनगरमा समुदायस्तरमा कोरोना फैलिएको आशङ्का गरिएकाे छ। आइतबार पहिलो चरणमा सशस्त्र प्रहरीको भन्सार राजस्व गुल्म काँकडभिट्टाका ३२ जना र स्वास्थ्यकर्मी, यातायात व्यवसायी, होटल व्ययसायी, पत्रकार र सर्वसाधारण गरी ८५ जनाको स्वाब संकलन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख शशीकला राईले जानकारी दिइन्।
हालसम्म मेचीनगरमा ७० जनामा संक्रमणा पुष्टि भइसकेको छ भने ४६ जना निको भएकाे र २४ जना अझैसम्म विभिन्न कोभिड अस्पतालमा उपचाररत छन् । नगरपालिकाको सामाजिक विकास समितिका संयोजक बरालले ‘मास टेस्टिङ’लाई आगामी दिनमा जारी राखिने बताए। अर्को चरणमा धुलाबारी र चारआली बजार क्षेत्रमा ‘मास टेस्टिङ’ गरिने भएको छ । यसमा लाग्ने सम्पूर्ण खर्च नगरपालिका आफैँले व्यहोरेको जनाएको छ। रासस