काठमाडौं- पूर्वजनमुक्ति सेनाका कम्पनी कमान्डर नैनबहादुर तामाङलाई बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले ५० हजार रुपैयाँ सहयोग गरेका छन्।
सिन्धुपाल्चोक सुनकोसी स्थायी घर भएका तामाङ नेपाली सेना विरद्धको लडाईंमा बमको छर्रा लाग्दा घाइते भएका थिए।
उक्त बमको छर्राका कारण घाइते तामाङलाई विगत लामो समयदेखि क्यान्सर देखिएको थियो। उनको तामाङको दुखदायी तस्बिर सार्वजनिक भएसँगै मन्त्री दुलालले उनकै अस्थायी निवास भक्तपुर पुगी सहयोग गर्ने प्रतिबद्धता गरेका हुन्।
तत्काल अप्ठ्यारो परिस्थिति टार्नका निमित्त केही रकम सहयोग गरेको उनले बताए। क्यान्सर पीडित तामाङको सम्पूर्ण उपचारका निमित्त आफूले सक्दो पहल गर्ने मन्त्री दुलालले वचन दिएका छन्।