चितवन- पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा आकस्मिक रक्तसञ्चार सेवा शुरु गरिएको छ। क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर र अस्पतालबीच सम्झौता गरी आजदेखि सेवा सञ्चालनमा ल्याइएको हो।
सेवाको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्। मिर्गौलाको डायलासिस गराइरहेका तीनजना बिरामीलाई निःशुल्क रगत प्रदान गरी सेवा सञ्चालनमा ल्याइएको हो। योसँगै अस्पतालमा आएका बिरामी रगतको खोजीमा भरतपुरसम्म जार्नुपर्ने बाध्यता टरेको छ।
सेवा तत्कालका लागि अस्पतालमा रहेको प्रयोगशालाबाट सञ्चालनमा आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले जानकारी दिए।
सेवाको शुभारम्भ गर्दै नगरपालिका प्रमुख वनले अहिले आकस्मिक रक्तसञ्चार केन्द्रका रुपमा स्थापना गरिएको यस सेवालाई विस्तार गरेर केन्द्रका रुपमा सञ्चालन गर्ने तयारी गरिएको बताए।
नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं १० का अध्यक्ष केशव आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरपालिका उपप्रमुख विमला दुवाडी, २ का वडाध्यक्ष तिलकराज शर्मा, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने, अस्पताल विकास समितिका सदस्य देवेन्द्रकुमार श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी लगायतले बोलेका थिए।
अस्पतालमा अहिले नियमित डायलासिस गर्ने २६ जना बिरामी रहेका छन्। रक्तसञ्चारको क्षेत्रीय कार्यालय भरतपुरमा रहेको छ। केन्द्रले माडीको बघौडा अस्पतालमा यसअघि नै आकस्मिक रक्तसञ्चार सेवा शुरु गरेको छ।
यस्तै विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा अस्पताल युनिट स्थापना गरी सेवा दिँदै आएको छ।
हाडजोर्नी सेवा
हाडजोर्नीको शल्यक्रिया शुरु गरिएको छ। अस्पतालमा चार वर्षयता चिकित्सकको अभावमा हाडजोर्नीको शल्याक्रिया हुन सकेको थिएन।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट बगालेका अनुसार अस्पताल व्यवस्थापन समितिले हाडजोर्नी विशेषज्ञ नियुक्त गरेर उपचारसँगै शल्यक्रिया शुरु गरेको हो। डा रुपेश झाको नेतृत्वमा हाडजोर्नी विभाग सञ्चालनमा ल्याइएको हो। यसअघि अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा कृष्ण पौडेल हुँदा २०७३ सालमा हाडजोर्नीको शल्यक्रिया गरिएको थियो।
पूर्वपश्चिम राजमार्ग निकट भएकाले अस्पतालमा हाडजोर्नीका बिरामी धेरै आउने गर्दछन्। अस्पतालमा अन्य जटिल प्रकृति र प्रसूतिका शल्यक्रिया पनि हुँदै आएको छ। पूर्वी चितवनका चार नगरपालिकाका जनतालाई सेवा दिन सक्ने बकुलहर रत्ननगर अस्पताल प्रदेशस्तरीय अस्पताल भएको हो।
बगालेका अनुसार हाल १५ श्यया रहेको सो अस्पताल प्रदेशस्तरको भएसँगै ५० श्ययाको हुनेछ। २०५८ सालमा धनधान्याञ्चल महायज्ञ लगाएर आर्थिक सङ्कलन गरी त्यहाँको स्वास्थ्य चौकीलाई अस्पताल बनाइएको थियो। हाल सो अस्पतालमा पाँचजना विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन्।
अस्पतालमा हाल आकस्मिक, बहिरङ्ग, भर्ना गरेर उपचार सेवा, प्याथोलोजी, डायलासिस, भिडियो एक्स–रे, एक्स–रेजस्ता सेवा उपलब्ध छन्। अस्पतालमा प्रसूति, बालबालिका, छाला, दाँत लगायतका विशेषज्ञ सेवा दिइँदै आएको छ। बगालेका अनुसार अस्पतालमा तला थप गरेर सघन उपचार कक्ष र पोष्टअप बनाइँदै छ। रासस