काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ। गत २४ घण्टामा मात्र १ सय ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणका क्रममा सप्तरीका २१ र सिरहाका १ जनामा कोरोना भेटिएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषा र महोत्तरीका १०÷१०, नारायणी अस्पताल वीरगञ्जमा पर्साका १८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
धुलिखेल अस्पताल प्रयोगशालामा काभ्रेका १, पाटन अस्पताल ललितपुरमा ललितपुरका ३ र पर्साका २, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका १, स्टार अस्पताल सानेपामा काठमाडौंका २ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ३, भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा बाँकेका १, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीका १ जनामा कोरोना भेटिएको छ।
सुर्खेत प्रादेशिक अस्पतालमा सुर्खेतका १, दैलेख आरटी पिसिआर प्रयोगशालामा दैलेखका २८, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा सल्यानका २, डडेल्धुरा अस्पताल प्रयोगशालामा बैतडीका ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार देशभर हाल ४ हजार ९ सय ५० जना अस्पतालको आइसोलेसनमा र १६ हजार ३ सय ७१ क्वारेन्टाइनमा छन्।