काठमाडौं- नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्रले आफ्नो ५५औँ स्थापना दिवस मनाएको छ। सो अवसरमा आर्थिक वर्ष २०७६/०७७ मा २ लाख ३८ हजार आठ सय ३६ युनिट रगत संकलन भई तीन लाख २१ हजार सात सय ७६ युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराइएको जानकारी दिइयो।
देशभरिमा विभिन्न संघ-संस्थाबाट ३,४७८ वटा घुम्ती रक्त संकलन गरिएको छ भने केन्द्रीय रक्त सञ्चार सेवाबाट मात्रै ३९,७५५ युनिट रक्त संकलन गरिएको सो अवसरमा जानकारी दिइएको थियो।
२०२३ साल साउन १२ गते नेपालमा रक्तसञ्चार सेवा स्थापना भएको थियो। अहिले नेपालको ७३ जिल्लाका ११६ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत रेडक्रसले सेवा सञ्चालन गरिरहेको छ।
काठमाडौंको केन्द्रीय रक्तसञ्चार सेवाको लगायत विराटनगर, पोखरा, नेपालगञ्ज र चितवन गरी ४ वटा क्षेत्रीय रक्त सञ्चार सेवा २२ वटा जिल्लास्तरीय इकाई, ४७ जिल्लाका आकस्मिक रक्त सञ्चार सेवा र ३८ वटा अस्पतालका रक्त सञ्चार सेवा एकाइबाट अहिले रक्त सञ्चार सेवा सञ्चालनमा छन्।
कोभिडको महामारीको अवस्थामा सेवा स्थापना दिवस विभिन्न स्थानमा भीड नगरी फरक तरिकाले कार्यक्रम मनाइएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए। केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा वार्षिक प्रतिवेदन सार्वजनिक गरियो। त्यस्तै, बकुलहर, रत्ननगर अस्पताल चितवनमा आजै एक कार्यक्रमबीच आकस्मिक रक्तसञ्चार सेवा सुरु गरिएको छ। नेपालगञ्जमा सञ्चार गृहको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। त्यस्तै कोहलपुरमा पनि रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
स्थापना दिवसको अवसरमा केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डाक्टर मनिता राजकर्णिकारले रक्तदाता र संघसंस्थाको सहयोगप्रति आभार व्यक्त गरिन्। उनले कोभिड-१९ संक्रमणले रक्तसञ्चार सेवा प्रभावित भए पनि रक्तदाता र रक्तसंचार सेवासँग सम्वद्ध संघसंस्थाको सहयोगमा संक्रमण जोखिम न्यूनीकरणमा ध्यान दिँदै सेवा प्रवाह गरिँदै आएको बताइन्।
रक्तसञ्चार सेवा केन्द्रले जस्तोसुकै विपद् तथा महामारीको समयमा पनि रगतको सहज व्यवस्थापनका लागि गरेको पहल प्रशंसनीय रहेको केन्द्रीय रक्तसञ्चार ब्युरोकी संयोजक डा रेखा मानन्धरले बताइन्।