मुख्य समाचार

बिपी प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५२ पुग्यो

काठमाडौं - नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक संक्रमितको मृत्यु भएको हो।

प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मोरङका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। गम्भिर अवस्थामा प्रतिष्ठानमा बुधबार दिउसो पुर्‍याइएका ती संक्रमित पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। 

उपचारका क्रममा उनको दिउसो ४ बजेर ४५ मिनेटमा मृत्यु भएको डा सापकोटाले जानकारी दिए। 

संक्रमित ती पुरुषलाई विराटनगरको कोभिड अस्पतालले कुनै समन्वय समेत नगरी चालकको भरमा पठाएको थियो। प्रतिष्ठानले समन्वय नगरी संक्रमितलाई पठाएको भन्दै दुख व्यक्त समेत गरेको छ।

बुधबार नै वीरगञ्जमा दुई जना संक्रमितको मृत्यु भएको थियो। आजका तीन जनासहित नेपालमा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

वीरगञ्ज रोधमाई वडा नं ७ का ६८ वर्षीय पुरुषको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। निमोनिया भएपछि उनी साउन ८ गते भर्ना भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले बताए । 

उनका अनुसार उनी मुटुका रोगी थिए। उनको बुधबार बिहान पौने ११ बजे मृत्यु भएको हो। 

यस्तै, नेशनल मेडिकल कलेजमा उपचाररत वीरगञ्जका ७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। झाडापखालाको समस्या देखिएपनि उनी उपचारका लागि गएराति अस्पताल भर्ना भएका थिए। 

आईसियुमा उपचाररत उनको बुधबार बिहान ३ बजे मृत्यु भएको थियो। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने