डडेल्धुरा- डडेल्धुरा अस्पताल डडेल्धुरामा कार्यरत दुई स्वास्थ्यकर्मी सेती नदीमा बगेर बेपत्ता भएका छन्। अस्पतालको प्रयोगशालामा कार्यरत विनयबहादुर सिंह र हरि जोशी बेपत्ता भएका हुन्।
शनिबार बिहान डोटीमा रहेको शैलेश्वरी मन्दिरको दर्शन गर्न गएका उनीहरु फर्किने क्रममा गर्मी भएर सेती नदीमा नुहाउन जाँदा नदीले बगाएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
अस्पतालकै अर्का कर्मचारी प्रेम ठगुन्नाको भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बेपत्ता दुवै जनाको खोजी भइरहेको छ।
जिल्ला प्रहरीकार्यालय डोटीबाट खटिएको प्रहरी टोली, पिपल्ला, तिल्ताली, चमराचौतारा, वाईल र तल्कोट बझाङ्गबाट खटिएको प्रहरीको टोलीले बेपत्ता उनीहरुको खोजी कार्य गरिरहेको छ। शिखर नगरपालिका- १० गहनान भन्ने ठाँउबाट शनिबार दिउसो सबा दुई बजेतिर सेतीले बगाएको प्रहरीले जनाएको छ।