काठमाडाैं- १७ दिनदेखि अनसन बसेका ‘ई’लाई अस्पताल भर्ना गरिएको छ। सोमबार बिहान उनको स्वास्थ्यमा समस्या देखिएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको 'इनफ इज इनफ'का अभियन्ता पुकार बमले जानकारी दिए।
अनसनरत ईले आइतबारदेखि सलाइन पानीसमेत लिन छाडेका थिए। उनकाे सुगरको मात्रा घट्दै गएकाे छ। मिर्गाैला र पिसाबमा एसिटनको लेभल कम देखिएपछि उनलाई डाक्टरहरुले अस्पताल लगेको बमले बताए।
उनी कोरोना भाइरस महामारीमा सबल व्यवस्थापनको माग राख्दै अनसनरत छन्। यसअघि पनि ई र बम अनसन बसेका थिए। कोरोना भाइरसविरुद्ध सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा उत्रिएका अभियानका युवाहरु र सरकारबीच असार २२ मा काेराेनाकाे जोखिममा रहेका सबैकाे राज्यको नीति अनुसार पीसीआर परीक्षण गर्ने गरी निर्देशिका हप्तादिन भित्र परिमार्जन गर्ने सहमति भएकाे थियाे। साे बेला सरकारसँगको वार्तामा १२ बुँदे सम्झौता भएको थियो।