समाचार

प्युठानमा ५४ प्रतिशत बच्चाले गर्छन् स्तनपान

सचेतनामा जोड दिँदै ९ वटै स्थानीय सरकार

प्युठान- १ अगस्टदेखि सुरु भएको विश्व स्तनपान सप्ताह विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरी प्युठानमा पनि मनाइएको छ।

हरेक वर्ष अगस्ट १ तारिखदेखि ७ तारिखसम्म मनाइने यस सप्ताहको यस वर्षको नारा ‘स्वास्थ्य र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ तय गरिएको छ।

विश्व स्तनपान सप्ताहको अवसरमा जिल्लाका विभिन्न स्थानीय तहहरुमा स्तनपान सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु भइरहेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए।

उनले भने, ‘जिल्लास्तरका कुनै कार्यक्रम नभए पनि सबै स्थानीय तहहरुले आआफ्नो क्षेत्रमा प्रजननयोग्य उमेरका महिला, विशेषगरी सुनौलो १००० दिन भित्रका आमा र बच्चाहरुलाई लक्षित गरी स्तनपानको महत्व झल्काउने खालका कार्यक्रमहरु सञ्चालन गरिरहेका  छन्।’

स्तनपान सप्ताहको अवसरमा जिल्लाका सबै स्थानीय तहहरुले सचेतनामुलक कार्यक्रमहरु आयोजना गरेका छन्। प्युठान नगरपालिकाले नगरपालिका क्षेत्रभित्र रहेका १२ वटै स्वास्थ्य संस्थाहरुमार्फत व्यानर सहित उपस्थित भई स्वास्थ्य संस्थामा सेवा लिन आउने सुनौलो हजार दिन भित्रका आमाहरुलाई यसको महत्व र आवश्यकताको विषयमा जानकारी प्रदान गर्ने र पूर्ण स्तनपानका लागि सल्लाहसुझाव दिने गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्दराज घिमिरेले जानकारी दिए। 

त्यस्तै स्वर्गद्वारी नगरपालिकाले गाउँघर क्लिनिकलाई विशेष जोड दिँदै त्यहाँ आउने सुनौलो १००० दिन भित्रका आमाहरुलाई परिवार नियोजनका साधन, पोषण तथा स्तनपानको महत्व र फाइदाको विषयमा जानकारी गराउने गरेको स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीको भनाइ छ।

यस पटक सबै स्थानिय तहहरुले सचेतना कार्यक्रमलाई जोड दिएका छन्। कोभिड–१९ संक्रमणको जोखिम अत्यधिक रहेकाले यसको प्रभावलाई मध्यनजर गर्दै यही १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने आमा समूहको बैठकमा ब्यानर सहित स्तनपान सम्बन्धी विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्ने नौबहिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिए।

त्यस्तै स्थानीय तहमा रहेका सबै स्वास्थ्य संस्थाहरुमा महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, गाउँघर क्लिनिकहरुमार्फत स्तनपानको विषयमा सुसूचित बनाउने कार्य भइरहेको गौमुखी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिएका छन्। 

झिमरुक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विकास केसीका अनुसार विश्व स्तनपान सप्ताहको अवसरमा पूर्ण स्तनपानलाई जोड दिँदै यसको महत्व र आवश्यकताको विषयमा लक्षित वर्गलाई जानकारी दिन चेतनामुलक परामर्शका कार्यक्रमहरु सबै वडामा भइरहेका छन्।

स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी पुष्कल श्रेष्ठका अनुसार यस वर्ष जिल्लाले लिएको पूर्ण स्तनपानको लक्ष्य अनुसार ५ हजार ५ सय ७४ रहेकोमा ३ हजार २१ जना करिब ५४ प्रतिशतले स्तनपान गरेको तथ्यांक स्वास्थ्य कार्यालय प्युठानसँग रहेको छ। 

त्यस्तै जिल्लाका अन्य स्थानीय तहहरु मल्लरानी, माण्डवी, सरुमारानी र ऐरावती गाउँपालिकामा पनि विश्व स्तनपान सप्ताहलाई प्रभावकारी बनाउनका लागि विभिन्न चेतनामुलक कार्यक्रम, चोकमा व्यानर टाँस्ने, सुनौलो हजार दिन भित्रका आमाहरुलाई यसको महत्व र फाइदा तथा सतनपान गराउने आसनको बारेमा जनकारी दिने कार्यहरु भइरहेका छन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने