काठमाडौं- जिल्ला प्रशासन कार्यालय नुवाकोटले कोरोना भाइरसको संक्रमण बढेको भन्दै अत्यावश्यक बाहेकका सेवा बन्द गर्न आदेश जारी गरेको छ। बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासनले तोकिएका सेवा मात्र संचालन गर्न पाउने आदेश गरिएको जानकारी दिएको हो।
योसँगै क्वारेन्टाइनका लागि तोकिएका बाहेकका चिया पसल, होटल, लज तथा रेष्टुरेन्टसमेत बन्द गर्न आदेश दिइएको छ भने विदुर नगरपालिकाभित्र संचालन हुने सबै सार्वजनिक सवारीका साधन संचालन गर्न समेत रोक लगाइएको छ। प्रशासनले सबै किसिमका भेला तथा भेटघाट समेत गर्न रोक लगाएको छ।
अनुमतिप्राप्त सेवा तथा सवारी संचालनमा भने कुनै रोक नभएको प्रशासनले स्पष्ट पारेको छ। प्रशासनबाट अर्को सूचना जारी नभएसम्मका लागि यी सेवा बन्द गर्न आदेश दिइएको हो।
