काठमाडौं- स्याङ्जा जिल्ला अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु भएको छ। बिहीबारबाट हेमोडायलाइसिस सेवा सञ्चालनमा आएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जानकारी गराएको छ।
बिहीबार ३ जनामा हेमोडायलाइसिस गरी परीक्षण सम्पन्न गरेको अस्पतालका मेसु डा सुशील मरासिनीले जानकारी दिए। प्रदेश सरकारको सहयोगमा अस्पतालमा ४ वटा मेसिन जडान गरेको मेसु मरासिनीले बताए।
उनले भने, ‘प्रदेश सरकारको सहयोगमा ४ वटा मेसिन अस्पतालमा जडान गरिएको छ। तीन वटा मेसिन सञ्चालनमा आएका छन् भने एउटा रिजर्भमा राखेका छौँ।’
डा मरासिनीका अनुसार पुलतीबजार नगरपालिकामा मात्र १३ जना डायलायसिस गर्नुपर्ने मिर्गौलाका बिरामी रहेका छन् भने स्याङजा जिल्लाभरि ५० जना भन्दा बढी बिरामी रहेको मेसु मरासिनीको अनुमान छ।
केही दिनमै प्रत्येक दिन ६ जनाको डायलाइसिस गर्ने गरी सेवा सञ्चालन गर्ने मेसु मरासिनीले जानकारी दिए।
उनका अनुसार यसको लागि अस्पतालले २ जना चिकित्सक र २ जना नर्सलाई तालिम दिएर तयारी अवस्थामा राखेको छ।