कोरोना भाइरस संक्रमणको महामारी सुरु भएपछि विश्वभर विभिन्न औषधिको परीक्षण भइरहेको छ। अहिलेसम्म पनि कोरोना उपचारका लागि प्रभावकारी औषधि वा खोप भने पत्ता लागिसकेको छैन।
विश्वभर यतिखेर कोभिड–१९ को रोकथाम तथा उपचारका लागि दुईखाले उपचार विधिको परीक्षण भइरहेको छ। जसमध्ये एउटा नयाँ खोपको परीक्षण हो भने अर्को यसअघि नै विभिन्न रोगमा प्रयोग भइरहेको खोप तथा औषधिमाथिको अनुसन्धान हो।
विश्व स्वास्थ्य संगठनले पहिले नै विभिन्न रोगको उपचारमा प्रयोग भइरहेका केही औषधिबारे विश्वस्तरमै ‘डब्लुएचओ सोलिडारिटी ट्रायल’ का रूपमा अनुसन्धानका लागि आह्वान गरेको थियो।
विश्व स्वास्थ्य संगठनको निगरानीमा भइरहेको कोभिड–१९ को क्लिनिकल ट्रायल अर्थात् ‘डब्ल्लुएचओ सोलिडारिटी ट्रयाल’ मा विश्वका धेरै देशले काम गरिरहेका छन्। नेपालले पनि विश्व स्वास्थ्य संगठनको निगरानीमा केही औषधिको प्रभाविकारिताका विषयमा अनुसन्धान सुरु गरेको छ।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियर सोलिडारिटी ट्रायल अन्तर्गत विश्वभर कोरोना उपचारमा परीक्षण भइरहेका औषधिहरुको समन्वय गरिरहेको बताउँछन्।
उनले सोलिडारिटी ट्रायलमा सहभागी हुन चाहने देशले कोरोनाको उपचारमा कुनै औषधिले काम गर्छ वा गर्दैन भन्ने परीक्षण गर्न तोकिएको समुचित कार्यनीति र प्रोटोकल पालना समेत गर्नुपर्ने बताए।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत डा मेघनाथ धिमाल नेपाल पनि सो सोलिडारिटी ट्रायलमा सहभागी भएको बताए। उनले मलेरिया, इबोला, एचआइभी एड्समा प्रयोग हुने औषधिहरु कोरोना उपचारमा प्रभावकारी हुन्छ कि हुँदैन भनेर अध्ययन भइरहेको जानकारी दिए।
नेपालमा हुन लागेको अनुसन्धानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिइसकेको उनले बताए।
कोरोना संक्रमितमा यी औषधि कति प्रभावकारी हुन्छन् भनेर पत्ता लगाउन अनुसन्धान गर्न लागिएको हो। विश्व स्वास्थ्य संगठनको आह्वानमा विश्वका एक सयभन्दा बढी देश सोलिडारिटी ट्रायलमा सहभागी छन्।
भारतमा पनि यी औषधिको विषयमा अनुसन्धान सुरु भइसकेको छ। विश्व स्वास्थ्य संगठनले विश्वस्तरमै चलनचल्ती रहेका एन्टिभाइरल औषधिलाई कोरोना भाइरस संक्रमणको उपचारमा प्रयोग गर्नेबारे अध्ययन गर्न सहयोग गरिरहेको छ।
कोरोना भाइरस विरुद्धको खोप वा औषधि बन्न अझ धेरै समय लाग्न सक्छ। त्यसका लागि प्रयासहरु जारी छन्। तर तपाईं हामीले पनि कोरोना भाइरस संक्रमणबाट बच्न एक मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग र नियमित हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने बानी बसाल्नुपर्छ।