दीपा पौडेल
प्युठान- अप्रेसन गर्ने पैसा नहुँदा १५ वर्षीय एक किशोर जिल्ला अस्पताल प्युठानको इमरजेन्सी वार्डमा अलपत्र परेका छन्। मल्लरानी गाउँपालिका- १, अरबाङ निवासी शंकर परियार आर्थिक अभावका कारण उपचार गर्न नसकेर बेडमै लडिरहेका छन्।
दुई महिना अगाडि पेट दुखेर वान्ता भएपछि उनलाई जिल्ला अस्पताल बिजुवार ल्याइएको थियो। जिल्ला अस्पताल प्युठानका एमडिजिपी डा सुनिल सुनारले उनको स्वास्थ्य परीक्षण गरेका थिए। शंकरलाई (स्युडोसाइस्टको विथ नेक्रोटाइजिङ प्यानक्रियाटाइटिस) रोगले संक्रमण गरेको डा सुनारले बताए। उनका अनुसार यो आमासयको एक प्रकारको संक्रमण हो। अप्रेसन गर्नुपर्ने भएपछि जिल्ला अस्पताल प्युठानका चिकित्सकले शंकरलाई बाहिर जान सुझाव दिएका छन्।
डाक्टरको सुझाव अनुसार उनका दाइ सागर परियारले शंकरलाई बुटवलस्थित लुम्बिनी सिटी हस्पिटल लगेर उपचार गराएका थिए। डेढ लाख रुपैयाँ सकियो तर लुम्बीनी सिटी हस्पिटलमा उनको उपचार सम्भव भएन। अस्पतालले उनलाई एक महिनाको औषधि दिएर घर पठाएको सागरले बताए। ‘औषधि खाएर निको हुन्छ भने तर बीसको उन्नाइस भएन,’ सागरले भने, ‘भएको पैसा पनि सकियो केही उपाय लागेन।’
सागरले शंकरलाई प्रादेशिक अस्पताल बुटवलमा लगे तर त्यहाँबाट पनि वीर अस्पताल काठमाडौं लैजान सुझाइयो। उनीसँग काठमाडौं लैजाने पैसा नभएपछि भाइलाई लिएर घर फर्किएको बिरामी शंकरका दाइ सागर बताउँछन्। ‘औषधि लिएर घर आइयो,’ सागरले आँखाभरि आँसु पार्दै भने, ‘घरको बाख्रा, भैंसी सबै बेचियो, म पनि इन्डियाबाट आएको ५ महिना भयो। खाना खाने पैसा समेत छैन।’
शंकरलाई गत आइतबार पुनः वान्ता भयो। ६० वर्षीया आमाले अस्पताल लैजान भनेपछि उनले घरजग्गा बन्दक राखेर भए पनि पैसा तिर्ने बाचा सहित गाउँको गाडीमा राति ११ बजे जिल्ला अस्पताल बिजुवार ल्याएको बताए।
अस्पतालका डा सुनिल सुनार र डा अमृत पन्थी शंकरलाई छिटोभन्दा छिटो उपचारका लागि बाहिर लैजानुपर्ने बताएका छन्।
९ वर्ष अगाडि बुबाको निधन भयो। आमालाई काम गरेर पाल्नुपर्ने दायित्व शंकरकै छ। घरको एक जना दाइ बेपत्ता छन्। भारतमा मजदुरी गरेका अरु ४ जना दाइहरु लक डाउनका कारण घरमा छन्। सबैको आर्थिक स्थिति नाजुक छ। एक जना दाइ भारतको दिल्लीमा छन्। उनको आर्थिक अवस्था पनि कमजोर रहेको चुजाँ– २ निवासी समाजसेवी यमबहादुर केसीले जानकारी दिए।
आर्थिक अभावका कारण राम्रो अस्पताल जान नसकेका शंकरले आफूलाई बचाउन आग्रह गरे। ‘डाक्टरले बाहिर लैजानुस् भन्नुहुन्छ, हामीसँग पैसा छैन, कसरी लैजानु,’ शंकरका दाजु सागर भन्छन्।
उनको नाजुक अवस्था देखेर जिल्ला अस्पताल प्युठानका प्रमुख डा अमृत पन्थीले अन्य उपचार गर्ने पैसा जुटाएमा काठमाडौंसम्म लैजानका लागि अस्पतालले निःशुल्क रुपमा एम्बुलेन्स पठाउने बताए। १५ वर्षको बालकको अप्रेसनको लागि आवश्यक रकम सहयोग गर्नका लागि समेत डा पन्थीले सबैलाई अनुरोध गरेका छन्।