काठमाडौं- नेपाल विद्यार्थी संघ धरानले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा ताला बन्दी गरेका छन्।
नेपाल तरुण दल निकट विद्यार्थी सघंले उपकुलपतिको गैरजिम्मेवारपूर्ण व्यवहार र कोरोना संक्रमण र नियन्त्रणमा देखाइएको अकर्मण्यता सच्याउँदै सिनेट बैठक तत्काल स्थगित गरी आफ्नो कार्यक्षेत्रमा फर्कन माग गर्दै तालाबन्दी गरेका हुन्।
उनीहरुले धरानबासीहरुको प्रतिनिधित्व गर्ने निकाय स्थानीय सरकार धरान उपमहानगरपालिकासँग बँुदागत छलफल गरेर मात्र सिनेट बैठक बोलाउने व्यवस्था गर्न उनीहरुले माग गरेका छन्।
साथै कोरोना पोजेटिभ तुरुन्त भर्ना गर्न, आइसोलेसन वार्डमा धरान नगरबासीको लागि २५ बेड अनिवार्य छुट्याउने, कोभिड अस्पताल पूर्ण क्षमताका साथ तुरुन्त सञ्चालन गर्ने, अव्यवस्थित ओपिडी सेवालाई तुरुन्त बन्द गरी नयाँ पुराना बिरामीका लागि व्यवस्थित सेवा सञ्चालन गर्ने, आइसियु सेवा र डायलाइसिस सेवालाई क्षमता वृद्धि गरी सेवाग्राहीलाई राहत दिने, प्रतिष्ठानमा अध्ययन र जागिरका लागि स्थानीय कोटाको उचित व्यवस्थापन गर्ने, इमर्जेन्सी सेवा, प्रसूति सेवा लगायत सबै आन्तरिक सेवाहरुको उचित व्यवस्थापन गर्ने, प्रतिष्ठान भित्रका शौचालय तथा सरसफाइको उचित व्यवस्थापन गर्नुपर्ने माग राखेका छन्।
उल्लेखित विषयहरुमा गैरजिम्मेवारी, ढिलासुस्ती र मनोमानी गरिए थप कडा कदम चाल्ने चेतावनी उनीहरुले दिएका छन्।
