लकडाउन अन्त्य भएसँगै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विभिन्न सरकारी कार्यालयका कर्मचारी, होटल व्यवसायी, सानाठूला व्यापारी, मजुदुरलगायत धेरै जनामा एकै पटक कोराना संक्रमण देखिन थालेको छ।
किन समूहगत रुपमा कोरोना संक्रमण बढ्न थालेको छ त? हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीलाई सोधेका छौँ।
उनले एकपटक धेरै व्यक्तिसँग कामका सिलसिलामा नजिक हुनुपर्ने समूहमा संक्रमण देखिन थालेको बताए। उनका अनुसार कामका दौरान जनस्वास्थ्यका मापदण्डको कार्यान्वयन हुन नसक्दा पेशागत समूहमा संक्रमण सर्दै गएको हो।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियर पनि मानिसहरूले धेरैजसो समय कार्यक्षेत्रमा बिताउने भएकाले कार्यक्षेत्र संक्रमणको जोखिम हुने संभावित स्थानमध्ये एक भएको बताउँछन्।
उनले भाइरस संक्रमण हुने जोखिम अन्य स्थान जस्तै कार्यक्षेत्रमा पनि हुने भएकाले संभावित संक्रमण कम गर्न अन्य स्थानमा रहँदा अपनाइने जस्तै सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताए।
अन्य मानिसबाट कम्तीमा एक मिटरको दूरी कायम गर्नु, नियमित रूपमा हात धोइरहनु, खोक्दा वा हाच्छ्युँ गर्दा अरु व्यक्तिबाट अलि टाढा गएर रुमाल, टिस्यू पेपर वा कुहिनोले मुख छोप्नु संक्रमणको जोखिम कम गर्न धेरै नै महत्वपूर्ण हुने भ्यान्देलियरको भनाइ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार साउन २६ गतेसम्म नेपालमा हालसम्म विभिन्न पेशाका ३२० जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये सबैभन्दा धेरै चिकित्सक, नर्सलगायतका १६२ स्वास्थ्यकर्मी छन्। भने नेपाल प्रहरीका ७७ र नेपाली सेनाका ३६ कर्मचारी, ४ एम्बुलेन्स चालकलाई संक्रमण देखिएकोछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मात्र ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यसबाहेक राजनीतिज्ञ, सुरक्षागार्ड, विभिन्न फ्याक्ट्रीका कर्मचारी, विभिन्न कार्यालयका कार्यलय सहयोगीमा समेत संक्रमण देखिएको छ ।
सहप्रवक्ता अधिकार संक्रमणबाट बच्चे एउटै उपाय भनेकै सबै व्यक्ति कोभिड पोजिटिभ छ भनेर शंका गर्दै सावधानी अपनाउनु नै हो भन्छन्। उनले मन्त्रालयले जारी गरेको संक्रमणबाट बच्न अपनाउनुपर्ने मापदण्ड पालना गर्नुपर्ने बताए।