काठमाडौं- नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्ण क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेको छ।
चिकित्सक तथा स्वास्थ्य संस्थामाथि आक्रमण र तोडफोडका घटना बढ्दै गएको भन्दै संघले विज्ञप्ति जारी गरी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्ण क्षेत्र घोषणा गर्न माग गरेको हो।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ मा समावेश गरी दीर्घकालीन रुपमा स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्ण क्षेत्र घोषणा गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
संक्रमित स्वास्थ्यकर्मीका लागि विशेष उपचारको व्यवस्था गर्न र स्थानीय अस्पतालमा उपचार हुन नसके तत्काल हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाउन संघको माग छ।
यस्तै, नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा उल्लेख भएका अत्यावश्यक औषधिहरु उपलब्ध गराउनुपर्ने र कोभिड उपचारमा आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन, आइसियु, शय्या र जनरल शय्याको संख्या वृद्धि गर्नुपर्ने माग विज्ञप्तिमा गरिएको छ।
संघले नारायणी अस्पताल वीरगञ्जका चिकित्सकमाथि भएको घटनाको विरोध समेत गरेको छ। घटनामा संलग्न दोषीहरुलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्ने माग संघले गरेको छ।