काठमाडौं- काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाका एक जना जनप्रतिनिधिलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
नगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार वडा नम्बर १२ का जनप्रतिनिधिलाई कोरोना पोजिटिभ देखिएको हो। जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएपछि नगरपालिकाले वडा नम्बर १२ का वडा अध्यक्ष तथा अन्य जनप्रतिनिधिसँग एक हप्ताभित्र सम्पर्कमा आएका व्यक्तिहरुले वडा कार्यालय तथा नगरपालिकामा जानकारी दिन आग्रह गरिएको छ।
नगरपालिकाले सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्य गर्न सहज होस् भन्दै जनप्रनिधिको सम्पर्कमा आएकाहरुले नाम, थर, ठेगाना तथा सम्पर्क नम्बर लगायतका विवरण उपलब्ध गराउन सूचना जारी गरेको हो। यसका साथै जनप्रतिनिधिको प्रत्यक्ष सम्पर्कमा आएकाहरुले पिसिआर रिपोर्ट नआएसम्मका लागि घरमै सुरक्षित रुपमा बस्न पनि नगरपालिकाले आग्रह गरेको छ।
यसैगरी, नगरपालिकाको वडा नम्बर ५ को चापाबोट टोलमा समेत संक्रमण देखिएको भन्दै नगरपालिकाले वडा ५ र ६ मा समेत सुरक्षित रुपमा रहन भनेको छ।
