काठमाडौं- कोरोना भाइरसको संक्रमण बढेको भन्दै उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुले विभिन्न गतिविधि सञ्चालन गर्न रोक लगाएका छन्।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले शुक्रबार सूचना जारी गर्दै आज साउन ३० देखि लागू हुने गरी विभिन्न गतिविधिमा रोक लगाएका हुन्। यस्तो प्रतिबन्ध भदौ १५ सम्म लागू हुनेछ।
यसअनुसार जमघट हुने गरी धार्मिक कार्य गर्न, भिडभाड गर्न र नाराजुलुस लगाउन प्रतिबन्ध लगाइएको छ। यस्तै कुनै पनि तालिम तथा गोष्ठी गर्नसमेत रोक लगाइएको छ। तोकिएका गतिविधि निषेध गरिएको समयमा संचालन गरे कारबाही गरिनेसमेत प्रशासन कार्यालयहरुले स्पष्ट पारेका छन्।
प्रशासनले जारी गरेको आदेश उल्लंघन गरे स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ। ऐनअनुसार आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रहरीले गिरफ्तार गर्नेछ। गिरफ्तार गरिएका व्यक्तिलाई तुरून्त प्रहरीले प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गर्नुपर्नेछ।
प्रमुख जिल्ला अधिकारीले ती व्यक्तिलाई उपयुक्त सम्झेको संक्षिप्त कार्यविधि अपनाई एक महिनासम्म कैद वा एक हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्नेछन्। उक्त सजायको आदेश चित्त नबुझेमा उच्च अदालतमा पुनरावेदन लाग्नेछ।
प्रशासन कार्यालयहरुले रोक लगाएका गतिविधि
–खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न।
–भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव संचालन गर्न।
–दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु।
–उद्योग व्यापार, व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलापहरु।
–चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु।
–शैक्षिक संस्थाहरु संचालन गर्न।
–सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी
प्यालेस, मनोरजन स्थल, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना संचालन गर्न।
–फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा, साइकलमा संचालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न।
–उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक र कामदारको ओसार पसार गर्न।
–टेक अवेबाहेक होटल, रेस्टुराँ सञ्चालन गर्न।