राजकुमार महतो
सामाजिक विकास मन्त्रालयका नीति, योजना, मापदण्ड तथा जनस्वास्थ्य महाशाखाका प्रमुख सतिश विष्टजीले मलाई विगत ६ महिनादेखि मेरो रङ्ग तथा थरको आधारमा विभेद गरी मलाई मानसिक यातना दिने र कार्यस्थल उत्पीडन जस्ता अमानवीय कार्य गर्दै आउनुभएको छ । मेरो कार्य सम्पादनमा अनेक प्रकारले बाधा उत्पन्न गराउने र मैले कार्य गर्न सकिन भनेर झुठो आरोप लगाई गलत प्रचारबाजी गर्ने कार्य उहाँले गर्दै आउनुभएको छ।
विष्टजीले ३१ असार २०७७ का दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल सरकारलाई पत्र पठाई बागमती प्रदेशमा विश्व स्वास्थ्य संगठन प्रादेशिक स्वास्थ्य अधिकृत पद आवश्यक नरहेको र विश्व स्वास्थ्य संगठनको भूमिका सामाजिक विकास मन्त्रालयले भर्ना गरेको छात्रवृत्ति तथा करारका कर्मचारीले गर्ने भनेर अनाहकमा मलाई जागीरबाट हटाउने षडयन्त्रमूलक कार्य गर्नुभएको छ । सतिश विष्टजीले उक्त पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनु भन्दा अगाडि मलाई कुनै किसिमको मौखिक वा लिखित जानकारी वा चेतावनी पनि नदिइ जातीय विभेद गरी उल्टै मलाई जागीरबाट हटाउने अमानवीय कार्य गर्नुभएको व्यहोरा अनुरोध गर्न चाहन्छु।
मलाई काममा लगाउने संस्था विश्व स्वास्थ्य संगठनले पनि मेरो पीडा र मसँग भएको उत्पीडन र विभेद बुझेन। मेरो सुपरभाइजर र संस्था प्रमुखमध्ये कसैले पनि मसँग एकपटक पनि छलफल नगरी र वास्तविकता नबुझी एक महिनाको नोटिस दिएर मलाई जागिरबाट हटाउने निर्णय सहितको पत्र २१ जुलाई २०२० को दिन पठाएको जानकारी गराउँदछु।
म राजकुमार महतो अगस्ट २६, २०१९ देखि सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशमा विश्व स्वास्थ्य संगठनको तर्फबाट प्रादेशिक स्वास्थ्य अधिकृतको रुपमा कार्यरत रहेको व्यहोरा अनुरोध छ । बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मिति २०७६ साउन ०६ को नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखिएको पत्रानुसार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुमा कानुन, नीति, नियम, योजना निर्माण तथा कार्यान्वयन सम्बन्धी कार्यमा प्राविधिक सहयोगको लागि मलाइ खटाइएको थियो।
विगत ११ महिनादेखि मन्त्रालयका स्वास्थ्य सम्बन्धी महाशाखाहरु, स्वास्थ्य निर्देशनालय तथा केन्द्रहरुको निर्देशनअनुसार र विश्व स्वास्थ्य संगठनको कार्य योजना अनुसार प्राविधिक सहयोग गर्दै आएको छु। सामाजिक विकास मन्त्रालयले र विश्व स्वास्थ्य संगठनले दिएको सम्पूर्ण कार्यहरु जिम्मेवारीपूर्वकसम्पन्न गरेको छु।
नेपालको संविधानको प्रस्तावना र धारा २४ मा मौलिक हकको रुपमा प्रावधान गरीएको छुवाछुत र भेदभाव विरुद्धको हकको बुंदा (४) मा जातीय आधारमा छुवाछुत गरी वा नगरी कार्यस्थलमा कुनै प्रकारको भेदभाव गर्न पाइने छैन भन्ने उल्लेख छ । सो मर्म विपरीत सतिश विष्टजीले प्रदेश सरकारको जिम्मेवार तथा उच्च पदस्थ भएर पनि मेरो रङ्ग र जातको आधारमा मलाई मानसिक यातना, कार्यस्थल उत्पीडन, जातीय विभेद गर्नुभएको मेरो बुझाई छ । नेपालको संविधानको धारा १८ समानताको हक अनुरुप म मधेशी समुदायको रहेकोले मलाई सकारात्मक संरक्षण, सशक्तिकरण र विकास गर्नुको साटो मलाई निरन्तर उत्पीडन गर्नु भइ आफ्नो पद र अख्तियारको दुरुपयोग गर्नु भएको छ । नेपालको विभिन्न कानुनहरुमा र मुलुकी संहिता समेतमाजातीयविभेद गर्न पाइँदैन भन्ने व्यवस्था गरीएको छ ।
आईएलओ कन्भेन्सनजसमा नेपालले हस्ताक्षर र अनुमोदन गरेको छ, त्यस कन्भेन्सनमा प्रावधान गरिएको व्यवस्था विरुद्ध पनि सतिश विष्टजीले मलाई जातीय विभेद गरी षडयन्त्रमुलक तरीकाले कोविड १९ महामारी र आर्थिक संकटको बेला मानवीय पक्षलाई बिर्सेर मेरो जागीर समाप्त पार्ने गलत कार्य गर्नुभएको छ।
तसर्थ, म नेपालको एउटा नागरिकको हैसियतले नेपालको संविधानले प्रदान गरेको मौलिक हकको प्रावधानको सम्मान गर्दै सतिश विष्टजीले मलाई गर्नुभएको जातीयविभेद र अन्यायको विरुद्ध मलाई न्याय प्रदान गराई दिन हुन सम्पूर्ण सरोकारवालासँग सादर आग्रह गर्दछु ।
अहिले हाम्रो देशको राष्ट्रिय एकता बलियो बनाउने समय हो । देशका विभिन्न वर्ग, धर्म, क्षेत्र र जातजातिलाई जोडन सके मात्र हाम्रो देश मजबुत, समृद्ध र एक हुन सक्छ । विगत १८ वर्षदेखि म पनि आफ्नो स्तरबाट यही प्रयासमा कार्य र व्यवहार गर्दैछु, चाहे त्यो सानो स्केलमा किन न होस्।
सतिश विष्टजी नेपाल जनस्वास्थ्य महासंघ, बागमती प्रदेशको अध्यक्ष जस्तो जिम्मेवार तथा गरिमामय पदमा हुनुहुन्छ । नेपाल जनस्वास्थ्य महासंघको प्रमुख कार्य नै जनस्वास्थ्यको सम्भावना बिस्तार गराउने, जनस्वास्थ्यकर्मी र जनस्वास्थ्यका सरकारी तथा गैरसरकारी क्षेत्रमा पद सिर्जना गराउने, भएका पदको संरक्षण गर्ने तथा प्रवद्र्धन गर्ने हो । तर त्यसको ठिक विपरीत सतिश विष्टजीले त्यस पदमा बसेर म राजकुमार महतो, जनस्वास्थ्यकर्मीको अनाहकमा जागीर मात्र समाप्त गर्नु भएको छैन अपितु विश्व स्वास्थ्य संगठन जस्तो गरिमामय संस्थाभित्रको प्रादेशिक स्वास्थ्य अधिकृतको एउटा पद नै खारेज गराउनु भएको छ।
सतिश विष्टजीले मलाई गर्नुभएको जातीय विभेद र कार्यस्थल उत्पीडन तथा मेरो जागीर समाप्त पार्न गर्नुभएको अन्यायविरुद्ध तपसिल बमोजिमको सरकारी निकाय तथा नागरिक समाज संजालमा न्यायको लागि अपिल गर्दछु।