काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको परिक्रमा विद्यार्थी परिवारले आयोजना गरेको साहित्यिक कार्यक्रम ‘काव्यक्रमा’सम्पन्न भएको छ।
साउन ७ गते देखि सुरू भएको उक्त कार्यक्रममा देशभरका मेडिकल कलेजमा स्नातक तहमा अध्ययनरत तथा अन्य देशमा चिकित्साशास्त्र पढिरहेका नेपाली विद्यार्थीहरूको सहभागिता रहेको थियो।
स्याटसम र नेपालयको प्रायोजनमा संचालित उक्त कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको थियो। नेपाली र अंग्रेजी दुबै विधा गरि पहिलो चरणमा प्राप्त भएका करिब १०० कवितामध्ये बाट निर्णायक मण्डलले दुबै विधाका उत्कृष्ट १० कविताको छनोट गरेका थिए।
काव्यक्रमामा नेपाली विधाका निर्णायकका रूपमा साहित्यकार इन्दिरा प्रसाईँ र कवि मनु मन्जिल थिए भने अङ्ग्रेजी विधाका कवितालाई प्राडा अभि सुवेदी र साहित्यकार तथा समालोचक महेश पौड्यालले मूल्याङ्कन गरेका थिए।
गत साउन ३१ गते सार्वजनिक गरिएको नतिजामा अंग्रेजी विधा अन्तर्गत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत इप्शिता पुर्कायस्था, नेपालगञ्ज मेडिकल कलेजमा अध्ययनरत शुभा भट्टराई र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै अध्ययनरत रिवाज अधिकारी क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन्।
नेपाली विधा अन्तर्गत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका किरण चन्द्र पुन, गण्डकी मेडिकल कलेजकी कविता न्यौपाने र विराट मेडिकल कलेजका सनम ढकाल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन्।
शुभा भट्टराई र सनम ढकालले अंग्रेजी र नेपाली विधामा पिपल्स च्वाइस अवार्ड समेत पाएका थिए।
कार्यक्रममा दुबै विधाका विजेताले २००० नगदसहित साहित्यिक पुस्तकहरू पाएका छन् भने द्वितीय र तृतीय स्थान हासिल गरेका प्रतियोगीले साहित्यिक पुस्तकहरू साथै क्रमश रु १५०० र रु १००० नगद प्राप्त गरेका छन्।