डा सन्दीप सापकोटा
पेसाले म एक चिकित्सक। अझ सरल भाषामा भन्नुपर्दा एउटा सामान्य डाक्टर। काठमाडौंको चिरपरिचित अस्पताल अझ भनौं, देशकै शीर उचो बनाएको एक प्रतिष्ठित अस्पतालको पूर्वकर्मचारी।
हिजो त्यस अस्पतालमा मेरो अन्तिम ड्युटी थियो, सम्भवतः भाग्यले साथ दिए नेपालमै अन्तिम ड्युटी।
बिहान १० बजे कल आयो, 'एउटा १० वर्षको बच्चाको सिभिपी (बुझाउन पर्दा औषधि शरीरमा पुर्या'उने ठूलो सुई) खोल्नुपर्ने हुन्छ जस्तो छ डक्टर। कोभिड पोजिटिभ हो ७ दिनदेखि। अलि सिकिस्त छ, हातगोडा सुन्निएको हुँदा पेरिफेरल भेन भेट्नै सकेनौं, हजुर आएर कोशिस गर्ने कि?'
मैले बिरामीको विवरण फोनमै सोधे, 'प्लेटलेट्स कम रैछ मलाई युएसजी मेसिन विथ भास्कुलर प्रोब रेडी गर्दिनु। रिस्की छ, नहेरी घोच्न हुँदैन बच्चालाई, म आँउछु' भनेर आफू तयार हुन गएँ।
मैले यस अस्पतालमा काम गरेको १ वर्ष बढी भइसकेको थियो। पढाइ जति नै राम्रो भए पनि मलाई डाक्टर बनाएको यसै अस्पतालले हो। न त वैद्यनाथको कृपा न त धन्वन्तरीको पुनर्जीवन, म जस्तै डाक्टर धेरै आफ्नै मिहिनेत र लगनशीलताले नै भएका हुन्।
कोभिड पोजिटिभ बिरामीलाई पहिले छुँदै नछोएको हैन, आफ्नो स्वास्थ्यको डर पनि हैन। पहिले क्षयरोग जस्ता अन्य एरोसोल फाल्ने रोगको बिरामीलाई हेरेकै हो, मेरो पेसाको अपूर्व अनुभव नै यही हो।
तर अब अस्पतालको काम छोडेर एकचोटी दिदी, आमा भेट्न पर्ला भन्ने इच्छा थियो। अब घरमै बसेर पढ्ने अनि विदेश पलायन हुने भावी योजना थियो।
अन्तिम दिन भएकै कारण मनमा अनेक प्रश्न-उत्तर खेल्न थाले। पिपिईको सही प्रयोगको ट्रेनिङ जति भए पनि विज्ञ हुने त्यस्तै हो, अझ सही ढङ्गले पिपिई शरीरबाट निकाल्न मलाई हम्मेहम्मे पर्छ। आज अन्तिम दिनमा भाइरस घर लाने भए कि भन्ने त्रास फैलिन लाग्यो मनमनै। जसोतसो तयार भएर पूर्ण सुरक्षाका साथ कोभिड आइसोलेसन वार्ड छिरें।
बच्चालाई फकाइफुल्याई गरी कतै भेन भेटिन्छ कि हेर्छु भनेर लागें, सकिएन। आधा घण्टाको कोशिसपछि अगाडिको भाइजरमा बाफको कुहिरोले केही देख्न छाडियो। अब के गर्नु अलिकति हावा जाने ठाउँ नै छैन, बनाउँ त भाइरस छिर्छ कि भन्ने डर। अब सेन्ट्रल भेन खोल्छु भनेर मञ्जुरिनामा र सामान तयार गरियो। भर्खर बनाएको वार्ड भएको हुँदा सामान पुगनपुग हुनु स्वाभाविक हो। १० मिनेटको कामलाई बित्थामा १ घण्टा कुरियो। १ घण्टामा हजार प्रश्न दिमागमा। वार्डमा भएका सबै खोकीले ग्रसित, अवस्था पहिले जस्तो अलि थिएन। अस्पतालकै स्टाफले फोन गरेर गाह्रो भएको पनि सुनाएकै हुन्।
'अहो भोलि मेरोसाथीलाई भेट्छु जसरी पनि भनेथें, उसलाई अनि उसको घरमा सबैलाई सार्ने पो भएकि, ती प्यारी बहिनी यत्रो दिन घर बस्छिन् अहिले आएर मैले पो सार्ने हो कि, दिदीकोमा आमा त दीर्घरोगी नै हुनु भो अझ' जस्ता कुरा मनमा खेल्दै थिए।
'सिस्टर कति कुराएको, मलाई लास्ट दिनमा सारेरै पठाउने हो?' भन्दै म हाँसे।
'डक्टर हजुरको त च्वाइस छ, मेरो ११ महिनाको बच्चा छ, घर गएर तर्केर टाढा बस्न पनि सकिन्न अनि घर नगई यहीं बसें भने पनि मन मान्दैन। यहाँ ड्युटी नगरौं भने पनि सबैको पालो आई नै हाल्छ। पिसिआर गरेर रिपोर्ट कुर्दा ३ दिन जान्छ। बच्चालाई सर्छ कि भन्ने कुराले कति पिरोल्छ, जागिर छोडौँ भने पछि पाइँदैन। अब विदेश जाउँ भने बच्चा, बुढा, घरव्यवहारको जालोमा फसियो' जस्ता व्यथा सुनाउनुभयो। अर्कोको त्यस्तै पीडा, सबैको आफ्नाआफ्ना उस्तै कथा। तर अहँ काममा कुनै कसर छोडेका छैनन्।
म त भित्र छिर्छु, २०/२५ मिनेटको प्रोसिजर गर्छु निस्किन्छु।
तर दिन भर बिरामीसँगै समय बिताउनेको डर अतुलनीय छ। चार घण्टा लगाएको पिपिईमा निथ्रुक्कै भिजेको मेरो कथा भन्दा १२ घण्टा ड्युटी गर्ने नर्स र वार्ड हेल्परको अवस्था डरलाग्दो थियो।
पिपिईको ट्रेनिङ एकादेशको कथा हो। सायद स्वास्थ्यकर्मीलाई कोरोना सर्नुको कारण यो पनि हो।
वास्तवमा हिरो को? ग्राउण्ड लेभलमा काम गर्ने भुइँमान्छे कि नीति बनाउने ठूलाबडा? १२ घण्टासम्म पिपिईको रापमा जलेर खट्नुपर्ने, भोक प्यासको ख्याल नगरी। त्यो पीडा तपाईं हामी आमजनताले कल्पना गर्न पनि सकिँदैन।
तर, विचार गर्नुभयो? त्यो पीडा सहेर बस्नुको एउटै कारण थियो, पछि जागिर नै पाइँदैन। सेवा गर्नुपर्छ भनेर कतही हैन। त्यो भावले जितको भए र भविष्यको मेरो पढाइ, अझ भनौं हाम्रो भविष्य। देशमा सहज र मेरो दु:खको लायक हुन्थ्यो भने न मैले जागिर छोड्थें न मेरा सहकर्मी नर्सले दिक्दार भएर अरु उपाय खोज्नुहुन्थ्यो। आज यो अवस्था सिर्जना गर्ने को हो? तपाईंहामी सबै नेपाली, हैन र? पतित सोच भएको हाम्रो समाज?
आखिर किन निरीह बनाइँदै छ स्वास्थ्यकर्मीलाई?
बाटो हुँदो हो त यो देशमा न डाक्टर बस्छन्, न नर्स, अनि यो अवस्था विस्तारै सिर्जना हुँदै छ।
'डाक्टर चोर देश छोड' को नारा, धेरै नर्सलाई अस्पतालमा गरिने दुर्व्यवहार र गाली गलोज, प्रशासनबाट हुने स्वास्थ्यकर्मीको श्रम शोषण। यो तपाईंहरुले बनाएको सिस्टमको सिकार तपाई आफैं बन्नुहुनेछ एक दिन।
उपचार विधिसंगत नलागे परामर्श लिनुपर्छ, सकिन्छ न्यायालय धाउनुपर्छ। राजनीतिक टेकोको भरमा अस्पताल हाताभित्र बबन्डर मच्चाउने, वरपरका सुकुलगुण्डा जम्मा गरी डाक्टर कुट्ने, तोडफोड गर्ने हो भने देशमा अब अस्पताल बन्दैनन्, बने पनि स्वास्थ्यकर्मी हुँदैनन्। देश काठमाडौंमै सीमित रहन्छ, हाम्रो प्रगति रोकिन्छ, देश उँधो गति मात्र लम्कन्छ।