सीजन लामिछाने
एकादेशमा एउटा जङ्गल थियो। त्यो जङ्गलमा एउटा खुंखार बाघले केही समयदेखि त्रासको वातावरण पैदा गरिरहेको थियो। अहिलेसम्म न कसैलाई त्यो बाघलाई कसरी मार्ने वा भगाउने भन्ने थाहा थियो, न त्यो बाघ जङ्गलको पूरै प्रणाली नै उथलपुथल हुनेगरी जाइलाग्ला भन्ने नै कसैलाई कल्पना थियो।
बाघको एउटा विशेषता थियो, त्यसले अलि बुढाबुढी, पहिल्यै अर्को कुनै बाघसँग लड्दालड्दै घाइते भएकाहरुलाई अरुभन्दा बढी घाइते पार्न सक्थ्यो, ज्यानै पनि लिइदिन सक्थ्यो। त्यो कुरा थाहा पाउने बित्तिकै जङ्गलभरि खासखास खुसखुस हुन थाल्यो- पहिला कुनै बाघसँग नलडेका र घाइते नभएकाहरुलाई त यो बाघले केही गर्न सक्दैन रे। यसले खाने, सिद्ध्याउने भनेको त तिनै कमजोर, घाइते अनि लड्न सक्ने क्षमता नभएकाहरुलाई मात्र हो रे, हामीलाई त छोएर जाने मात्रै त रैछ, आदि इत्यादि।
अझ कतिले तिनको लागि भनेर सबैजना किन यसरी डराएर थुन्निएर बस्नुपर्ने र, मारे मारोस् ती कमजोरलाई भन्न पनि नभ्याएका हैनन्। पहिल्यै पुराना लडाईं लड्दै गरेका, पुराना खत गन्दै गरेका, त्रासको वातावरणमा औषधि र वैद्य नपाए आफ्नो बल्ल-तल्ल सुक्दै गरेको घाउ फेरि बल्झिन थाल्ला कि भनेर डराएका, चारैतिर त्यो बाघले आफूलाई मात्र मार्न सक्ने हल्ला सुनेर झनै अताल्लिएका, अरुभन्दा अलिकति कम बलिया ती जङ्गलबासीलाई अब त्यो वनको बाघले खान नपाउँदै मनको बाघले खाइसकेको अवस्था रह्यो।
नसर्ने रोगको अवस्था र गम्भीरता
त्यस्तै अवस्था छ अहिले विश्वभरि रहेका मुटुरोग, मधुमेह, उच्च रक्तचाप, मिर्गौला रोग, श्वास प्रश्वास सम्बन्धी रोग जस्ता विभिन्न नसर्ने तर दीर्घरोगका बिरामीहरुको। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार, संसारभरमा हरेक वर्ष ४१ मिलियन अर्थात् चार करोडभन्दा बढी मृत्युको कारण यिनै नसर्ने रोगहरु हुन्। संसारभरि हुने मृत्युमध्ये आधाभन्दा पनि बढी (७१ प्रतिशत) मृत्यु कुनै न कुनै नसर्ने रोगका कारणले हुने गर्छ। धेरैजसो यी रोग लागेका मान्छेहरु जीवन बाँच्नैका निम्ति निरन्तर रुपमा औषधि वा अन्य कुनै मेडिकल साधनमा समेत निर्भर रहनु परेको हुन्छ।
पछिल्लो समयमा धेरै अल्पविकसित राष्ट्रहरुले यस्ता रोगका बिरामीको संख्यामा तीव्र वृद्धि व्यहोर्नु परिरहेको छ। नेपालकै कुरा गर्दा पनि, २०१३ मा गरिएको स्टेप्स सर्वे र २०१९ मा पुन: गरिएको सोही सर्वे अनुसार, उच्च रक्तचाप, मधुमेह र मुटुरोगका बिरामीको संख्यामा पनि वृद्धि भएको देखिन्छ। बिरामीको संख्या बढ्दै गर्दा सरकार र स्वास्थ्य क्षेत्रको ध्यान पनि नसर्ने रोगको स्क्रिनिङ, परिक्षण, रोकथाम र उपचारका उपायहरु अनि जनचेतनामा समेत वृद्धि त नआएको हैन तर यी दीर्घ रोगले बिरामीको आर्थिक, सामाजिक तथा शारीरिक र मानसिक तहमा ह्रास त पुर्याएको हुन्छ नै; साथै नसर्ने रोगको वृद्धिले सम्पूर्ण स्वास्थ्य प्रणालीको प्राथमिकतामा नै फेरबदल गर्नुपर्ने आवश्यकता हुन सक्छ।
कोभिड कहरमा दीर्घरोगीको असहजता
सामान्य समयमा त अरुभन्दा बढी मानसिक, आर्थिक र सामाजिक समस्या भोग्नुपरेका दीर्घरोगीहरुलाई कोरोनाको यो कहरमा झन् बढी समस्या परेको छ। एक त नियमित रुपमा औषधि, डाक्टरसँगको परामर्श र उचित खानपानको आवश्यकता पर्ने उनीहरु यस कोभिडको माहोलमा चाहेको बेला डाक्टर भेट्न जान नपाउने, औषधि तथा अन्य मेडिकल साधनहरुको सहज उपलब्धता नहुनु र बेलाबेला गरिराख्नुपर्ने परीक्षण समयमा गर्न नपाउनुजस्ता अवरोधले त्यसै पनि दीर्घ रोगका बिरामीको नियमित जीवनको नियमितता खल्बल्याएको छ। त्यसका साथै, दीर्घ रोगका यी बिरामीलाई पिरोल्ने सबैभन्दा ठूलो समस्या अहिले मनोवैज्ञानिक पाटो रहेको छ।
नोबेल कोरोना भाइरसको अहिलेसम्म धेरै संक्रमित छन् अनि कतिले यसकै कारण ज्यान पनि गुमाइसकेका छन्। नेपालमा अहिले कोरोना भाइरसका संक्रमितमध्ये मृत्यु हुनेको संख्याले १०० नाघिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, यी मृत्यु हुनेहरुमध्ये आधाभन्दा बढी पहिल्यै नै कुनै दीर्घ रोग भएकाहरु नै छन्। चिकित्सकहरुका अनुसार मृत्यु हुने दीर्घरोगीहरुमध्ये धेरै जना नियमित परीक्षण र परामर्शको उचित उपलब्धता नहुँदा उनीहरुको स्वास्थ्य अझै बिग्रिन गएको र फलस्वरूप उनीहरुको रोग प्रतिरोधात्मक शक्ति अझै घट्न गएर उपचार काम नआउने अनि अन्तत: मृत्यु हुने गरेको छ। कोभिडको माहोलमा नसर्ने रोग सम्बन्धीका सेवाहरु अवरुद्ध भएका वा केही हदसम्म खल्बल्लिएका भनेर ७५ प्रतिशत राष्ट्रले भनेको कुरा विश्व स्वास्थ्य संगठनले पनि स्पष्ट पारेको छ।
मनोवैज्ञानिक असर
आफ्ना वरिपरि आफू जस्तै रोग लागेका अथवा आफ्नो जस्तै औषधि सेवन गरिरहेका व्यक्तिहरु बढी ग्रसित भएको देखेर वा समाचार सुनेर दीर्घरोगका बिरामीहरुमा त्रास पनि अरुभन्दा बढ्ता नै हुन्छ। वृद्ध-वृद्धाहरु यसै पनि आफ्नो बुढ्यौली, रोग र एक्लोपनसँग जुधिरहेका हुँदा, यतिबेला एकातर्फ महामारीको त्रास बढेको छ भने अर्कातर्फ साथीभाइ/नातेदारसँग भेटघाट पनि हुन नपाउँदा आफू एक्लिएको, अरुले त्यति ध्यान नदिएको वा अटेन्सन नपाएको महसुस गर्न थालेका देख्न सकिन्छ। त्यस्तै, छरछिमेक जम्मा भएर दुखसुखका गफ गर्ने बानी परेकाहरु झन् बढी एक्लो र विचलित महसुस गर्छन्। त्यसरी नै, घरबाहिर गएर काम गर्ने/कमाउने वर्ग पनि ठूलै संख्यामा नसर्ने रोगले प्रभावित छन्।
विशेषगरी मधुमेह, मुटुरोग र उच्च रक्तचापका बिरामीहरु ३०-५९ उमेर वर्गका पनि धेरै हुन्छन्। काम गर्ने स्थलमा उनीहरुलाई न अरु भन्दा बढी प्राथमिकतामा राख्नलाई केही नियम बनाइएको छ, न उनीहरुलाई प्यानिक नभई काम गर्न अनि अरु सहकर्मीलाई उनीहरुको विशेष ढंगले सहयोग गर्न प्रेरित होस भन्ने ध्येयले नै केही विशेष प्रयत्न गरिएको छ। नियमित रुपमा गरिने मर्निंङ/इभिनिङ वाक पनि केही हदसम्म अवरुद्ध भएकोले सामाजिक घुलमिल र शारीरिक व्यायामजस्ता महत्वपूर्ण कार्यको लागि छुट्याइएका समयमा पनि एकदमै कमी आएको महसुस गर्न सकिन्छ। वर्तमान परिप्रेक्षमा, साना बच्चाहरु र किशोरकिशोरीहरुमा पनि टाइप-१ डाइबिटिज र ल्युपस जस्ता अटो-इम्युन नसर्ने रोगहरु देखिने गर्दा उनीहरु समाचार सुनेर डराउने, आत्तिने अनि स्ट्रेस बढी भएका कारण उल्टै स्वास्थ्य अवस्था नै बिग्रिन जाने पनि हुन सक्छ।
यी त केही प्रतिनिधि उदाहरण मात्र हुन सक्छन्, तर मान्छेको सबैभन्दा ठूलो भय मृत्यु हो। संसारभरि करोडौंको मृत्यु भइरहेका समाचार अनि आफ्नो स्वास्थ्य स्थितिले आफूलाई अरुभन्दा अझै बढी मृत्युको नजिक पुर्याउँछ भन्ने ज्ञान/सोचले पनि मान्छेको मनोविज्ञानलाई धेरै हदसम्म अन-इस्टेबल गराइदिन्छ।
के गर्न सकिन्छ?
बाँकी, मानसिक स्वास्थ्यप्रति हाम्रो चासो र परामर्श सेवाप्रति हाम्रो गम्भीरता सामान्य अवस्थामा त पर्याप्त नभएको महसुस गरिन्थ्यो भने अहिले त झन् अवस्था कस्तो छ भन्ने कुरा सजिलै आकलन गर्न सकिन्छ।
त्यसैले दीर्घ रोगसँग लडिरहेकाहरुले आफ्नो मनोबल उच्च पारेर, कुनै समाचार र खबरबाट विचलित नभई, सम्पूर्ण सावधानीका उपाय अपनाएर सुरक्षित रहौं। किनकी कुनै पनि नकारात्मकता, चाहे त्यो रोग होस् वा शोक, सबैभन्दा ठूलो ढाल भनेको आखिर मान्छेको आत्मसुरक्षाप्रतिको इमान्दिरता अनि आत्मबल नै हो।
सबैको जीवन उत्तिकै महत्वपूर्ण र उपयोगी छ। त्यसैले आफ्ना वरिपरि रहेका दीर्घरोगी, अलि बढी संक्रमणको सम्भावना रहेकाहरुलाई विशेष माया, हौसला र समय दिऔँ। उनीहरुको स्वास्थ्यको बारेमा सोधिरहौँ, कतै, कुनै चिन्ता वा भयले सताइरहेको पो छ कि भनेर सोधखोज गरिरहौँ, औषधिको उपलब्धता बारे जानकारी लिइरहौँ अनि केही भए पनि हामी छौं है भनेर ढाडस दिऔं। केही समस्या भए चिकित्सक वा कोही विज्ञको सहायता लिन नहिच्किचाउँ। विज्ञसँग सम्पर्कमा रहिरहन, औषधि तथा अन्य मेडिकल साधन घरमै मगाउन तथा आफ्ना मान्छेहरुको सोधखबर गरेर उनीहरुलाई एक्लोपन अनुभव हुन नदिन फोन, मेसेज, च्याट, अनलाइन डेलिभरि एप जस्ता प्रविधिको फाइदा भरपुर रुपमा उठाऔँ। कम रोग प्रतिरोधात्मक शक्ति भएकाहरुप्रति लक्षित गरेर घर, समुदाय, अस्पताल, कार्यस्थल लगायत हरेक सम्भावित ठाउँमा विशेष प्रावधान बनाउन पाए अझै सहज हुने थियो।
राष्ट्रिय कोभिड-१९ योजनामा नसर्ने रोगलाई पनि समावेश गर्नु पनि अत्यावश्यक कदम हो। पिसिआर टेस्टको दायरा बढाउने काममा पनि पहिला दीर्घरोगीहरुलाई प्राथमिकतामा राख्दा एक त बढी-जोखिम समूहलाई सुरक्षित राख्न सकियो र अर्को, सामान्य रुघाखोकी मात्र हुँदा समेत कोरोना लाग्यो कि भन्ने डरले स्ट्रेस लेबल बढाएर आफ्नो स्वास्थ्य स्थिति अझ बिगार्ने सम्भावनाबाट दीर्घरोगका बिरामीलाई जोगाइयो।
शरीर र मन दुवैसँग लडिरहेको हाम्रो समाजकै एउटा समूह छ, जसलाई अहिले परिवार, समुदाय र हरेक सरोकारवालाले अलि बढी माया र प्राथमिकता दिनु आवश्यक छ। यस कठिन समयमा, दीर्घरोगका बिरामीहरुको मनोबल उच्च पारी, वनको बाघले खान नपाउँदै मनको बाघले खाने अवस्था नआउन दिन पहल गरौँ।