काठमाडौं- कोरोना भाइरस रोकथाम, नियन्त्रण र त्यसबाट संक्रमितको उपचारका लागि तीनवटै तहबाट अहिलेसम्म ११ अर्ब ९८ करोड ३१ लाख रूपैयाँ खर्च भएको छ।
सरकारले सार्वजनिक गरेको विवरणअनुसार संघीय सञ्चित कोष र कोरोना कोषबाट ५ अर्ब ८४ करोड रूपैयाँ खर्च भएको छ। त्यसमा कोरोना कोषको १ अर्ब ३ करोड रूपैयाँ समावेश गरिएको छ।
यसैगरी प्रदेश सरकारको तर्फबाट भएको खर्च १ अर्ब ४९ करोड, स्थानीय तहबाट भएको खर्च ६ अर्ब २ करोड रूपैयाँ गरी कूल ११ अर्ब ९८ करोड रूपैयाँ खर्च भएको हो।
संघीय सरकारबाट भएको निकासामध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख ५० हजार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रूपैयाँ खर्च भएको छ।
संघबाट भएको निकासामध्ये औषधि र स्वास्थ्य सामग्री खरिदका लागि १ अर्ब ७५ करोड, स्वास्थ्य पूर्वाधारका लागि २ अर्ब ९३ करोड, जनशक्ति परिचालनका लागि ५ करोड ७४ लाख र क्वारेन्टिनका लागि १ करोड २४ लाख रूपैयाँ खर्च भएको छ।
यसैगरी प्रदेश १ बाट २० करोड ७१ लाख, प्रदेश २ बाट १७ करोड २ लाख, बागमती प्रदेशबाट १३ करोड ६७ लाख, गण्डकी प्रदेशबाट १८ करोड ५४ लाख, प्रदेश नं ५ बाट १० करोड ५९ लाख, कर्णाली प्रदेशबाट २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशबाट ४२ करोड ८८ लाख रूपैयाँ खर्च भएको छ। सातवटै प्रदेशको कोषमा अब ८७ करोड ८५ लाख रूपैयाँ बाँकी छ।