काठमाडौं- सरकारले क्वारेन्टाइन व्यवस्थानका लागि एकिकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमणको जोखिम बढ्दै गएकाले कोरोना नियन्त्रणका लागि थप व्यवस्थापन गर्न यस्तो समिति गठन गर्ने निर्णय गरेको हो।
मन्त्रीपरिषद्को बैठकले कोरोना व्यवस्थापन गर्दैं नियन्त्रण गर्न एकिकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए।
समितिको संयोजकमा गृह सचिव हुने उल्लेख छ। त्यस्तै समितिमा स्वास्थ्य मन्त्रालयका उच्च तहका अधिकारी रहने उल्लेख छ। सदस्यहरुमा सामान्य प्रशासन मन्त्रालयले तोकेका सहसचिव, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रथम श्रेणीका अधिकारीहरु र क्वारेन्टाइन रहने स्थानीय तहका प्रमुख तोकेका प्रतिनिधि सदस्य रहने उनले जानकारी दिए।
उक्त समितिले काठमाडौंका तीनवटै जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमार्फत् क्वारेन्टाइन स्थलको पहिचान र सञ्चालन गर्ने डा. खतिवडाले जानकारी दिए। समितिले क्वारेन्टाइनको निर्माण र अतिआवश्यक कार्य गर्ने उनले बताएका छन्।
उनका अनुसार क्वारेन्टाइनको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। उक्त क्वारेन्टाइनमा विदेशबाट उद्धार गरेर ल्याइएका व्यक्तिहरुलाई राखिने र त्यसबापतको खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च गरिने जनाइएको छ।