जनक अधिकारी
अरु दिनभन्दा आज म अलिक डराएको छु। मैले कोभिड-१९ निदानको लागि पिसिआर परीक्षण गर्न स्वाब दिएको छु। मलाई स्वाब दिनैपर्ने बाध्यता त केही थिएन, किनकी कोभिड-१९ सँग मिल्ने कुनै लक्षण ममा थिएन।
कोरोना कहर सुरु भएपछि पचासभन्दा बढी बिरामी व्यवस्थापन गरे पनि म व्यक्तिगत सुरक्षा कवचभित्र सुरक्षित थिएँ। मसँग भेट भएका मानिसको रिपोर्ट पोजेटिभ देखिए पनि हामी मास्कमैं छौं। मैले दूरी पनि कायम गरेको छु। त्यसैले पनि पिसिआर गर्नैपर्ने बाध्यता नभए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा रही काम गर्ने स्वास्थ्यकर्मीको पिसिआर परीक्षण गरी काममा लगाउनु भनेकोले मैले स्वाब दिएँ।
कोभिड-१९ लाई लिएर विश्व नै त्रसित छ। कतिपय समाजले संक्रमितलाई गरेको व्यवहार अत्यन्त निन्दनीय र भर्त्सनायोग्य छ। सरकारले कोभिड-१९ नियन्त्रणमा गरेका प्रयासबारे सबैले आआफ्ना चस्माले हेरेर आआफ्नै टिप्पणी गरेका छन्। कति भजन गाउन व्यस्त होलान् त कति खेदो खन्न मस्त होलान्। म त्यसतर्फ जान्न।
मलाई यत्ति थाहा छ, म जुन अस्पतालमा छु, त्यहाँ सरकारले नागरिकका लागि गरेको खर्च गर्व गर्न योग्य छ। यहाँ दिनमा ३०० जनाको स्वाब संकलन गर्ने गरिएको छ, यो संख्या कहिले २०० होला त कहिले ५०० पुग्ला। हामीले ३०० नै औसत मान्ने हो भने र अहिले चलेको प्रतिपरीक्षण शुल्क रु ५५०० ले हिसाब गर्ने हो भने मात्र पनि १६ लाख ५० हजार त पिसिआर परीक्षणकै लागि मात्र दैनिक खर्च भइरहेको छ। यो एउटा अस्पतालमा पिसिआर परीक्षणको लागि एक दिनमा गरिएको लगानी हो। त्यस्ता कति अस्पताल छन् अनि ती अस्पतालमा दैनिक बिरामीको व्यवस्थापन गर्दा प्रयोगशाला परीक्षण लगायतमा कति खर्च लाग्ला?
संक्रमित यसैगरी बढिरहेको अवस्थामा के राज्यले धान्न सक्ला? हरेक जिम्मेवार नागरिकले सोच्नुपर्ने बेला भइसकेको छ। त्यसैले म व्यक्तिगत रुपमा कोभिड-१९ नियन्त्रणका सन्दर्भमा सरकारले गरेका प्रयासको मनैदेखि प्रशंसा गर्न चाहन्छु।
म फेरि सुरुवातमै फर्कें। मैले पिसिआर परीक्षणको लागि स्वाब दिएँ। लक्षण नदेखिए पनि म ढुक्क छैन, नेगेटिभ रिपोर्ट आउँछ भन्ने कुरामा किनकी मैले त्यस्ता धेरै बिरामीको व्यवस्थापन गरिसकेको छु जो लक्षणविहीन थिए तर संक्रमित थिए। त्यसैले म एक किसिमको छट्पटाहटमा छु, मन त्रस्त छ। ड्युटीमा छु तर मन बेचैन छ।
सम्झें, रिपोर्ट पोजेटिभ आयो भने? ओहो! होम आइसोलेसनमा बसुँ आफ्नो घर छैन, पिसिआर परीक्षणको रिपोर्ट नभई घरभित्र छिर्न नपाएर बाहिर रात बिताउनु परेको घटना सुनाउँदै टेकु अस्पतालमा आँसु बगाउने हजारौं सेवाग्राहीको कथनले काठमाडौंका घरबेटीको तस्बिर मेरो मानसपटलमा फरक रुपमा चित्रित छ।
यदि मलाई पोजेटिभ आयो भने घरमा ८९ वर्षका बुबा हुनुहुन्छ, आफूले अत्यन्त स्नेहपूर्वक हुर्काएका छोराछोरी छन्, तिनलाई पनि केही होला कि? मन अत्तालियो। सँगै काम गर्ने सहकर्मीले पनि तिम्रो कारण मलाई सर्यो भन्लान कि! मेरो सम्पर्कमा आएका मलाई माया गर्ने र मैले माया गर्ने सबैले हे भगवान् कतै यसको कारण मलाई सर्यो कि भनेर त्रस्त हुने दिन आउला कि!
बाहिर जोडले पानी परिरहेको छ, मेरो मनभित्र भेल र पहिरो छुटिरहेको छ। यसो गफ गर्दा फिस्स हाँस्छु तर मन त्रस्त छ। ठिकै छ, पोजेटिभ आए पनि म संघर्ष गरेर जित्छु, आत्मविश्वास पनि छ तर घरमा बुढा बाबालाई सरेको रहेछ भने?
हरेक दिन झन्डै ३-४ किलोमिटर हिँडिरहने मेरा वृद्ध बा विगत ६ महिनादेखि करिबकरिब नजरबन्दको अवस्थामा हुनुहुन्छ। अनि मेरो कारण उहाँलाई सर्यो भने? मनमा कतिकति सोचाइ, आरोह/अवरोह भए, भइरहे।
आजै ६ जना बिरामी आए, लक्षण देखिएका आइसियुमा राख्नुपर्ने बिरामी पनि आए। जिम्मेवारी काँधमा छ, मन त्रसित छ, तैपनि व्यवस्थापनबाट पछि हट्ने कुरा भएन, व्यवस्थापन गरियो। साँच्चै भनौं, मलाई पोजेटिभ आउला भन्ने भन्दा पनि मेरो कारण मेरा घरका संक्रमित होलान् कि भन्ने डर थियो मेरो मनमा।
फेरि एक पटक पिसिआर नेगेटिभ भनेर मुहार पुस्तकका भित्तामा साथीहरुले रिपोर्ट टाँसेको देख्दा आफूले गरेको कमेन्ट सम्झें। किनकी म यसो गर्नुको कुनै अर्थ देख्दिनँ। हामी अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी आज रिपोर्ट नेगेटिभ आएर सामाजिक संजालमा शुभकामना खाएर के गर्नु? भोलि पोजेटिभ आउन सक्छ र फेरि आफन्त तथा शुभचिन्तकबाट 'स्वास्थ्य लाभको कामना' भन्ने कमेन्ट लेख्नुपर्ने हुन सक्छ। अझ पर गएर सोच्ने हो भने 'श्रद्धासुमन' लेखिने दिन नआउला भन्न सकिन्न किनकी कोभिड नियन्त्रणको यो हाम्रो प्रारम्भिक यात्रा हो, अन्तिम यात्रा होइन।
अन्ततः आजको रात बित्यो। मनमा त्रास छ, साँच्चै किन हामी आफ्नो बारेमा भन्दा आफन्तका बारेमा सोच्छौं? डरैडरमा रिपोर्ट नेगटिभ आयो। अनि मन आनन्द भयो। त्यसपछि थाहा भयो, खुसी, हासो, पीडा, आँसु अनि कुन्ठा सबै पोख्ने ठाउँ त आखिर सामाजिक संजाल नै त हो नि। त्यही भएर साथीहरुले मुहार पुस्तकका भित्तामा आफ्ना रिपोर्ट टाँसेका रहेछन्। मलाई पनि मेरो रिपोर्ट नेगटिभ आउँदा औधी खुसी लाग्यो तर म सतर्क छु। यो मेरो सुरुवात हो अन्त्य होइन।
हामी जोकोही पनि संक्रमित हुन सक्छौं त्यसैले सतर्क हौँ। संक्रमित हुनु अपराध होइन, सामाजिक तिरस्कार नगरौं, हौसला दिउँ। अनि मेरो अनुरोध समाजलाई, यो संक्रमितको घर भनेर ब्यानर टाँस्नुको साटो मास्क किनेर बाडौं, घरबेटीले पनि संक्रमितलाई असल व्यवहार गरौं।
हामी अझ कठिन समयतिर जाँदै छौँ। यो समय हामीलाई एकअर्काको हौसला आवश्यक पर्छ, हाम्रो भविश्य उज्ज्वल छ। हामी पीडालाई सजिलै भुल्ने हिम्मत राख्छौं भन्ने कुराको उदाहरण २०७२ को भूकम्पले दिएको छ।
कोरोनाका कारण भौतिक दूरी बढे पनि सामाजिक सद्भाव, समन्वय र एकअर्काप्रति गरिने मायामा दूरी नबढोस्।
(अधिकारी शुक्रराज ट्रोपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल, टेकुमा कार्यरत छन्।)