काठमाडौं- गत साउन ३० गते राति मनमैजुमा भएको हत्याकाण्डकाे आराेपमा पक्राउ परेका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ। हत्या आरोपमा पक्राउ परेका दार्जे शेर्पामा कोरोना पोजेटिभ देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए।
दाेर्जेमा कोरोना पोजेटिभ देखिएपछि उनलाई पक्राउ गर्नेदेखि अनुसन्धान गरेर मुद्दा चलाउने प्रहरीसम्मलाई आइसोलेसनमा राखिएको छ। हत्या भएको भोलिपल्ट दोर्जेलाई महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको थियो। दाेर्जेको कारबाहीमा खटिएका सबै प्रहरी कर्मचारीलाई होम आइसोलेसनमा राखिएको एसएसपी ज्ञवालीले बताए।
गत साउन ३० गते राति मनमैजु मितेरी पुल नजिकको एक खाजा घरमा लक्ष्मण तामाङ र दोर्जे शेर्पाको समूहबीच झगडा भएको थियो। झगडामा छुरा प्रहार गर्दा लक्ष्मण गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा सोही राति मृत्यु भएको थियो।