काठमाडौं- लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकले कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा दान गरे। अस्पतालमा भर्ना भएकी बुटवलकी ७० वर्षीया वृद्धाको उपचारका लागि अस्पतालकै एनआसियू विभागमा कार्यरत मेडिकल अफिसर डा साजन श्रेष्ठले प्लाज्मा दान गरेका हुन्। अस्पतालले प्लाज्मा थेरापी विधिबाट संक्रमितको उपचार गर्ने अनुमति पाएपछि सोमबार डा श्रेष्ठले नै प्लाज्मा दान गरी यो विधिबाट उपचार सुरु भएको हो। प्लाज्मा लिने महिला आइसियुमा छिन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार प्लाज्मा दान गर्ने व्यक्तिमा रक्तदान गर्नुपूर्व कम्तीमा १४ दिन अगाडिसम्म संक्रमणको कुनै लक्षण देखिनु हुँदैन। साथै दाता संक्रमित भएको पुष्टि आरटीपिसिआर विधिबाटै भएको हुनुपर्छ। दाता र प्लाज्मा लिने व्यक्तिको रगत समूह पनि मिलेको हुनुपर्छ। यसका साथै प्लाज्मा लिने व्यक्तिको उमेर १८ वर्षमाथि हुनुपर्ने र ती व्यक्ति अस्पताल भर्ना भई उपचाररत हुनुपर्ने र गम्भीर स्वास्थ्य अवस्था हुनुपर्नेलगायतका मापदण्ड नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तोकेको छ। यी सबै मापदण्ड पूरा भएपछि अस्पतालका डा श्रेष्ठले बिरामीको उपचारका लागि प्लाज्मा दान गरेका हुन्।
सरकारले हालसम्म १२ वटा अस्पताललाई कोरोना संक्रमणका गम्भीर बिरामीमा प्लाज्मा थेरापी विधिबाट उपचार गर्न अनुमति दिएको छ। यसअघि त्रिवि शिक्षण अस्पताल, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठानले पनि प्लाज्माथेरापी विधिबाट उपचार सुरु गरिसकेका छन्।
पछिल्लो पटक आफू कार्यरत अस्तपालमा नै भर्ना भएकी बिरामीका लागि प्लाज्मा दान गरेका डा श्रेष्ठसँग हामीले कुराकानी गरेका छौँ। उनको भनाइ उनकै शब्दमा:
मेरो जेठ ३१ गतेदेखि असार ९ गतेसम्म लुम्बिनी प्रदेशिक अस्पतालको कोभिड आइसोलेसनको आइसियूमा ड्युटी परेको थियो। ९ गतेसम्मको ड्युटी सिध्याएर हामी सबै असार १० देखि अस्पतालले बनाएको क्वारेन्टाइनमा बस्यौँ। झन्डै एक हप्ता क्वारेन्टाइनमा बसिसकेपछि असार १६ गते पिसिआर परीक्षणका लागि हामी सबैजनाको स्वाब संकलन गरियो। मलाई एक/दुई दिन देखि नै घाँटी दुखेको जस्तो भएको थियो। त्यसैले पिसिआर परिक्षणका लागि स्वाब दिँदा थोरै डर लागेको थियो। तर कोरोना पोजेटिभ आउँछ जस्तो लागेको थिएन।
२० गते रिपोर्ट आउँदा जे नहोस् भन्ने सोचेको थिएँ, त्यही भइदियो। सधैं सँगै बस्ने खाने साथीको कोरोना नेगेटिभ आयो तर मेरो पोजेटिभ आयो।
त्यो बेलामा लक्षण देखिएका संक्रमित नेपालमा त्यति धेरै देखिएका थिएनन्। मृत्यु पनि खासै भएको थिएन। तैपनि रिपोर्ट पोजेटिभ आउँदा डर पनि लाग्यो। विश्वमा धेरै मानिसको मृत्यु भएको थियो। त्यसैले केही भई पो हाल्छ कि भन्ने मनमा चिसो पसेको थियो।
कोरोना पोजेटिभ आएपछि अस्पतालको आइसोलेसनमा नै बसेँ। बेलाबेलामा साथीहरू, सिनियर सरहरू आएर हौसला बढाउनु हुन्थ्यो। केही हुँदैन, सामान्य हो। निको भैहाल्छ। चिन्ता नलिऊ भन्नुहुन्थ्यो।
मेरो कोरोना पोजेटिभ आएको छ भनेर घरमा कसैलाई पनि भनेको थिइँन। ममीले चिन्ता गर्नुहुन्छ भनेर घरमा पनि जानकारी गराइनँ। मेरो रिपोर्ट पोजेटिभ आएको थाहा भए समाजमा मेरो परिवारलाई पनि गाह्रो पर्ला कि भन्ने चिन्ता पनि थियो। किनभने हाम्रो समाजले कोरोना संक्रमितलाई घृणा गरेका धेरै उदाहरण हामीले देख्दै र भोग्दै आएका छौं।
आइसोलेसनमा बस्न कुनै समस्या भएन। पहिला म आफैं आइसोलेसनका आइसियूका बिरामी उपचार गर्थेँ। म संक्रमित भइसकेपछि मेरो उपचारमा साथीहरू खटिनुभएको थियो।
म आइसोलेसनमा बसुन्जेल निरन्तर साथीहरु, सरहरू पनि आइरहनुभयो। टाढैबाट चिन्ता नगर्न भन्दै ढाडस दिइरहनुभयो। तर पनि मनमा केही भइहाल्छ कि भन्ने डर भने कम भएन। दिनमा दुई पटक चिकित्सक आउनुहुन्थ्यो। हालखबर सोध्नुहुन्थ्यो। ज्वरो नाप्नु हुन्थ्यो। ८ दिनको आइसोलेसन बसाइपछि पुनः पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो।
चिकित्सकले घरमा नै आइसोलेसनमा बस्नु भन्दै डिस्चार्ज गरिदिनुभयो। समाजले यो रोग लागेका मानिसलाई हेर्ने दृष्टिकोण राम्रो छैन। म गएँ भने परिवारलाई समस्या पर्छ भन्ने लाग्यो। त्यसैले अस्पतालले चिकित्सक बस्न बनाएको क्वारेन्टाइनमा एक हप्ता आइसोलेसनमा बसेँ।
एक हप्ता आइसोलेसनमा बसेपछि फेरि पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो। सिनियर सरलाई फोन गरेँ। काममा आउनेबारे सोधेँ। उहाँले तपाईंको इच्छा भन्नुभयो। आउन मन छ भने आउनुस्, यदि बिदा बस्छु भन्नुहुन्छ भने पनि बस्नुस् भन्नुभयो। तर मैले काममा फर्किने विचार गरेँ।
म कोरोनाबाट मुक्त भइसकेपछि मात्रै मैले घरमा ममीलाई जानकारी गराएँ। पछि मलाई एनआसियूमा काम गर्ने जिम्मेवारी दिइयो। अहिले घरबाटै अस्पताल आउनेजाने गर्छु। म घरमा पनि छुट्टै कोठामा बस्छु। सुरक्षित भएर अस्पताल आउनेजाने गरिरहेको छु।
दुई हप्ता अगाडि नै प्लाज्माथेरापी उपचार गर्ने अस्पतालले अनुमति पाएको थियो। अहिलेसम्म डोनर र प्लाज्मा लिने व्यक्तिको रगत मिलेको थिएन। हिजो बेलुका अस्पतालमा सिरियस भेन्टिलेटरमा राखेर उपचार गर्ने बिरामी भर्ना हुनु भएको रहेछ।
अस्पतालले ‘मलाई यस्तो यस्तो बिरामी छ। उहाँको रगत ग्रुप तपाईसँग मिल्छ के गर्नु हुन्छ?,’ भनेर सोध्यो। काठमाडौंमा पनि प्लाज्मा थेरापीको सुरुवात भएको थियो।
एक जना चिकित्सकलाई यो उपचार विधिले काम गरेर निको भएको पनि सुनेको थिए। त्यसैले यदि मैले गर्दा कसैको ज्यान बच्छ भने किन नदिने जस्तो लाग्यो।
बेलाबेलामा रगतदान गर्दै आएको थिएँ। पछिल्लो ६ महिनादेखि रगतदान गरेको थिइनँ। त्यसैले हुन्छ भनेँ। आज बिहान साढे सात बजे गएर रगत दिएँ। यदि मेरो कारणले उहाँको ज्यान बच्यो भने यो जति खुसीको कुरा मेरो लागि के हुन्छ होला र? उहाँको अहिले उपचार हुँदैछ। हेरौं, उहाँको स्वास्थ्य कस्तो हुन्छ।