काठमाडौं- उपत्यकामा निषेधाज्ञाकाे अवधि लम्बयाउने या नलम्बयाउने भन्ने निर्णय आज हुने भएको छ। गत बुधबार मध्यरातिदेखि उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) मा लागू भएको निषेधाज्ञाको अवधि भोलि बुधबार मध्यरातिबाट सकिँदै छ।
अत्यावश्यकबाहेक अन्य गतिविधिमा रोक लगाइएको निषेधाज्ञाबारे आज बस्ने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निर्णय लिने बताइएको छ। ‘आज चार बजे बैठकको तयारी छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘सोही बैठकले निषेधको समय थप्ने या नथप्ने भन्ने निर्णय गर्नेछ।’
साेमबारमात्र उपत्यकाभित्रका नगर इकाइहरुले उपत्यकामा अर्को हप्ता पनि निषेधाज्ञा लम्ब्याउनुपर्ने सुझाव दिएका छन्। उपत्यकामा कोरोना संक्रमितहरुको संख्या बढिरहेको तर्क गर्दै नगर/महानगरहरुले निषेधाज्ञाबारे सोच्न सम्बन्धित निकायलाई आग्रह गरेका हुन्।