काठमाडौं- नेपाल चिकित्सक संघले प्राडा गोविन्द केसीजस्तो मानवीय कार्यमा संलग्न जिम्मेवार चिकित्सकलाई घेरामा राख्ने हिड्न नदिनेलगायतका कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ।
संघले डा केसीलाई बिना कुनै कारण सुरक्षाको घेरामा राख्ने, हिँडडूल गर्न नदिने, नागरिकहरुसँग सम्पर्क गर्न नदिनेजस्ता अस्वाभाविक र गैरमानवीय कार्य भएकोले तत्काल रोक्न सरकारसँग माग गरेको हो।
संघका महासचिव डा बद्री रिजालले प्रेस विज्ञप्ति जारी गर्दै संघका आजिवन रहेका डा केसी आफू बसेको स्थानबाट बाहिर जान, हिँड्डूल गर्न सुरक्षाकर्मीको प्रयोग गरी रोकिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन्।
डा केसी चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार तथा सुशासनका अभियन्ता भएको र कोभिड-१९ को संक्रमणको समयमा समेत नेपालको अत्यन्तै दुर्गम स्थानमा गई चिकित्सकीय धर्म निर्वाह गरिरहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।
