जनकपुर- प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित सात जनाको मृत्यु हुनुका साथै १६५ नयाँ सङ्क्रमित थपिएका छन्।
सो अवधिमा महोत्तरी र सिरहामा दुई/दुई तथा पर्सामा तीन जनाको मृत्यु भएको समाजिक विकास मन्त्रालयका डा कमलेशप्रसाद यादवले जानकारी दिए। सोअनुरुप महोत्तरीको भङ्गाहा नगरपालिका–१ का ३५ वर्षीय, पिपरा गाउँपालिका–७ का ७० वर्षीय, सिरहाको सुखीपुर नगरपालिका–८ का ५५ वर्षीय र लहान–१८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।
त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–१२ का ४८ वर्षीय, वीरगञ्ज–२२ का ३७ वर्षीय र वीरगञ्ज–१२ का ६५ वर्षीया एक महिला गरी सात जनाको संक्रमितको मृत्यु भएको हो। यो प्रदेशबाट अहिलेसम्म कोरोनाको संक्रमित ८४ जनाको मृत्यु भइसकेको छ।
सोही अवधिमा धनुषामा ४९, महोत्तरीमा २७, सर्लाहीमा ४५, रौतहटमा एक, बारामा नौ र पर्सामा ३४ गरी १६५ जना थपिएका छन्। यस प्रदेशमा अब सङ्क्रमितको सङ्ख्या नौ हजार ७९५ पुगेको छ। सोमध्ये आज चार महिला गरी ८७ उपचार गराइ निको भएर घर फर्केका छन्। अब उपचार गराइ निको भएर घर फर्केनेको सङ्ख्या चार हजार ७५५ पुगेको छ।
यस प्रदेशअन्तर्गतका १९६ क्वारेन्टिनमा ७५० जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ६४३, आइसोलेसनमा एक हजार ७४ र होम आइसोलेसनमा तीन हजार ९०२ जना रहेको सो मन्त्रालयले जनाएको छ। रासस