गलकाेट- कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन्। निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलाप बन्देज गरिएको छ। तर बागलुङ-१० भकुण्डको गलुवामा कोरोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउँदा समुदायमै कोरोनाले भयावह रूप लिन सक्ने आशंका गरिएको छ । कोरोना जोखिमको समयमा छोरी जन्मँदा गरिने न्वारनमा ठूलो जमघट गरी भोज गरिएको पाइएको छ ।
न्वारन गर्ने छोरीका बुबालाई नै संक्रमण भएकाे पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। ती पिताले भदौ १ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाई खसी काटेरै भोज खुवाएका थिए। भोजमा पाहुना, आफन्तलगायतबाट ७० जना सहभागी भएका थिए। छोरीको न्वारन गर्न गलुवा पुगेका २३ वर्षीय सैनिकमा ११ गते कोरोना पुष्टि भएसँगै भोजमा सहभागी पण्डित, पाहुना तथा अतिथिसहित ७० जनाको स्वाब संकलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव डिल्ली आचार्यले जानकारी दिए।
'कोरोना समुदायमा गइसेकेको अवस्थामा न्वारनमा सचेत व्यक्तिबाटै स्वास्थ्य मापदण्ड नअपनाई भोज गरेको पाइयो', आचार्यले भने 'न्वारनमा भोज दिनेमै कोरोना देखिएपछि ७० जनाको स्वाब सङ्कलन गरेका छौँ, समाजमा सामान्य सचेतना नअपनाउँदा भयावह अवस्था आउन सक्छ ।' नगरपालिकाले शुक्रबार गलुवा पुगेरै स्वाब सङ्कलन गरेको हाे ।
संक्रमितका परिवारमा कोरोनाको लक्षणसमेत देखिएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्वाब दिनेमध्ये केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुने र घाँटी दुख्नेजस्ता समस्या देखिन थालेको छ। स्वाब संकलन गरिएका ७० मध्ये न्वारान गरिएकी २२ दिनको छोरीसमेत परेकी छिन्।
नागरिकस्तरबाटै सचेतना नअपनाउने हो भने एकल प्रयासले मात्र कोरोना नियन्त्रण गर्न नसकिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए। 'राज्यले भीडभाड नगर्नू, सामाजिक कार्य गर्दा सतर्कतासहित सामान्य गर्नू भनेकै छ, तर गाउँमा भोजभतेर, पूजापाठ, विवाहोत्सव चलेकै छ', खनालले भन्नुभयो, 'यस्तो गतिविधि शहरमा रोकिए पनि गाउँमा नरोकिएको पाइएको छ।'
नगरभित्र समुदायस्तरमा एक दर्जन व्यक्तिलाई कोरोना पुष्टि भइसकेको छ । नगरपालिकाभर भदौ १५ गतेसम्म निषेधाज्ञा जारी छ। रासस