काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १० वर्षीया बालिकाको दूरविन प्रविधिबाट अन्डासयको उपचार गरिएको छ। उनको शुक्रबार शल्यक्रिया गएिको हो।
बालिकाको दुवै अन्डासयमा ट्युमर रहेको पुष्टि भएको थियो। बिपी प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ एवं ल्याप्रोस्कोपी सर्जन डा अजय अग्रवालले बालिकाको एकपट्टिको अण्डासयमा १०र अर्कोपट्टिको अण्डासयमा १५ सेमीको ट्युमर रहेको बताए।
उनले भने, ‘बच्चाको अण्डासयमा मासु पलाएको खासै थाहा छैन। यो घटना निकै कम हुन्छ। ३० वर्षभन्दा माथिका करिब ५ देखि १० प्रतिशत महिलामा अण्डासयमा मासु पलाउने समस्या देखिन्छ।’
ती बालिकालाई एक हप्ता अगाडि पेटको समस्या भएको भन्दै अस्पताल ल्याइएको थियो। उनले एक महिनादेखि पेट दुख्ने समस्या भएको बताएकी थिइन्।
डा अग्रवाल नेपालमा सानो उमेरको बच्चालाई ल्याप्रोस्कोपीको माध्यमबाट उपचार गरिएकोबारे जानकारी नभएकोले पहिलो पटक हुनेसक्ने बताउँछन्।
किन महिलाको अण्डासयमा मासु अथवा ट्युमर पलाउन भन्ने ६० प्रतिशतको कारण थाहा नहुने चिकित्सकहरु बताउँछन्। ‘तर, कहिलेकाहीं क्यान्सरका कारणले पनि अण्डासयमा मासु पलाउन सक्छ, यी बालिकाको ट्युमर सानो भएकोले हामीले दूरविनले उपचार गरेका हौँ। जसले गर्दा घाउ ठूलो नहुने, छिटै निको हुने र संक्रमण निकै कम हुने हुन्छ,’ डा अग्रवालले भने।
समयमा त्यसको उपचार गरिएन भने मासु बढ्दै जाने, इन्फेक्सन हुने, अण्डासय फुट्ने र पछि सल्यक्रिया गर्दा पूरै काटेर फाल्नुपर्ने कारण महिनावारी नहुने समस्या पनि हुनसक्ने डा अग्रवालले बताए।
बालिकाको सिटी स्क्यान गर्दा पेटमा दुवै अन्डासयमा ट्युमर रहेको पत्ता लागेपछि उनको दूरविन प्रविधिबाट शल्यक्रिया गरिएको हो। अस्पतालका अजय अग्रवाल र डा मदन खड्काको टोलीले सफल शल्यक्रिया गरेको हो। प्रतिष्ठानमा यसअघि यस किसिमको शल्यक्रिया बच्चामा नभएको बताइएको छ।
ती बालिकाको रगत जाँचमा क्यान्सरको कुनै लक्षण नदेखिएको तर मासुको बायोप्सी गर्न दिइएको बताइएको छ।
दूरविन प्रविधिबाट गरिने शल्यक्रिया सामान्यतया महँगो हुनेगर्छ। यस प्रविधिमा विशेष उपकरण र सिपको आवश्यकता चाहिन्छ। बालिकाको अवस्था सामान्य रहेको बताइएको छ। उनको शनिबार डिस्चार्ज भएको छ।