डा तुल्सीराम भन्डारी
सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहान सहरमा रुघाखोकीको जस्तै लक्षण र चिह्नहरु देखिने अज्ञात रोग देखियो। यो रोग विस्तारै चीनको अन्य भागमा पनि फैलियो तर यसको निश्चित कारण पहिचान हुन सकेन। उपचार गर्दा सफलता नमिलेपछि चीनले विश्व स्वास्थ्य संगठनलाई सूचित गर्यो।
उपचार हुन नसकेपछि यो रोग चीनमा मात्र सीमित रहेन, अन्य मुलुकहरूमा पनि फैलिँदै गयो। ११ फेब्रुवरी २०२० मा International Committee on Taxonomy of Viruses (ICTV)ले यस रोगको कारण सार्स कोरोना भाइरस-२ भएको विधिवत घोषणा गर्यो। यो नयाँ प्रजातिको भाइरस मानवमा पहिलो पटक पहिचान भएको हो। मार्च ११, २०२० मा विश्व स्वास्थ्य संगठनले यसलाई (कोभिड-१९9) नामकरण गर्नुका साथै विश्वव्यापी महामारी घोषणा गर्यो।
यो रोग श्वास-प्रश्वासको माध्यमबाट सर्ने रोग हो। संक्रमित व्यक्तिले खोक्दा, हाछयुँ गर्दा वा बोल्दा मुखबाट निस्कने छिटाहरूको माध्यमबाट संक्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिमा सर्छ। यसले व्यक्तिमा सामान्य रुघाखोकीदेखि गम्भीर प्रकृतिका श्वास-प्रश्वास समस्या गराउन सक्छ तथापि संक्रमित व्यक्तिहरूमध्ये करिब ८० प्रतिशतमा प्राय लक्षण देखिँदैन। करिब १५ प्रतिशतमा सामान्य रुघाखोकीका लक्षणहरू देखिन्छन् भने ५ प्रतिशतमा कडा लक्षणहरु देखिने र ३-५ प्रतिशत संक्रमित व्यक्तिको मृत्यु भएको देखिन्छ।
कोभिड-१९ संक्रमणका प्रमुख लक्षणहरूमा- १००.४ डिग्री फरेनहाइट वा सोभन्दा उच्च ज्वरो आउनु, लगातार हाछयुँ आउनु, सुख्खा खोकी लाग्नु, घाँटी दुख्नु, टाउको दुख्नु, थकाई लाग्नु, जिउ दुख्नु, मुटुको धड्कन वृद्धि हुनु, झाडापखाला तथा वान्ता हुने आदि हुन्। रोगको जटिलता बढ्दै जाँदा शरीरमा कडा पीडा हुने, निमोनिया, खकारमा रगत देखिने र तीव्र झाडापखाला जस्ता लक्षण देखिन्छन् र बिरामीको मृत्यु हुने सम्भावना पनि हुन्छ।
कोभिड-१९ को संक्रमणको विश्वको तथ्यांक हेर्दा ९९ प्रतिशत संक्रमितमा सामान्य अवस्था पाइएको छ भने एक प्रतिशत संक्रमित जटिल अवस्थाबाट गुज्रिरहेका छन्। विश्वमा हालसम्म निदान भएका संक्रमितहरुमध्ये ९५ प्रतिशत पूर्ण निको भई अस्पतालबाट फिर्ता भएका छन् भने ३-५ प्रतिशत संक्रमितको मृत्यु भएको छ।
कोभिड-१९ संक्रमण स्वस्थ व्यक्तिमा भन्दा अन्य रोग भएका व्यक्तिमा बढी समस्यामूलक देखिएको छ र मृत्युदर पनि अन्य रोगहरू जस्तै– रक्तचाप, मधुमेह, मिर्गौलाको समस्या, मुटुरोग, क्यान्सर, निमोनिया, हाइपोथाइरोडिजम र एचआइभी/एड्स भएका व्यक्तिमा बढी छ। नेपालमा हालसम्म मृत्यु भएका व्यक्तिमध्ये करिब एक-तिहाइ (३२ प्रतिशत) मा अन्य स्वास्थ्य समस्या नरहेको र कोरोना संक्रमणबाटै मृत्यु भएको छ भने बाँकी व्यक्तिहरूमा कोरोना परीक्षण पोजेटिभ देखिए तापनि अन्य गम्भीर स्वास्थ्य समस्याहरू पनि रहेको उल्लेख छ।
नेपालमा हालसम्म मृत्यु भएका व्यक्तिहरूको उमेर अनुसार विश्लेषण गर्दा– १८ वर्ष वा सोभन्दा कम उमेरका ४ प्रतिशत, १९–४० वर्ष उमेरका १६.५७ प्रतिशत, ४१–६० वर्ष उमेर समूहका ४०.५७ प्रतिशत र ६० वर्ष माथिका ३८.३८ प्रतिशत रहेको छ भने प्रदेश अनुसार विश्लेषण गर्दा प्रदेश २ सबभन्दा बढी प्रभावित देखिन्छ भने त्यसपछि क्रमश बाग्मती, प्रदेश पाँच, प्रदेश एक, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेश रहेको तथ्यांक छ।
यो तथ्यांकलाई थप विश्लेषण गर्दा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा उनीहरुको उमेरसँग प्रत्यक्ष सम्बन्ध रहेको देखिन्छ अर्थात् उत्तरार्धका वयस्कहरू र वृद्धहरूमा यसको मृत्युदर बढी देखिन्छ। तर विश्वको तथ्यांकसँग तुलना गर्दा यसको मृत्यु तथा अस्पताल भर्ना दर उत्तरार्धका वयस्कहरू र वृद्धहरूको साथसाथै बालबालिका तथा किशोरकिशोरीहरूमा पनि बढी देखिन्छ।
अमेरिकाको 'रोग नियन्त्रण तथा रोकथाम केन्द्र' ले सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकामा कोरोनाबाट हुने मृत्यु तथा अस्पताल भर्ना हुने दरमा सबभन्दा कम १८-२९ वर्षको समूहमा रहेको छ। यस समूहलाई आधार मानेर तुलना गर्दा मृत्यु र अस्पताल भर्ना हुने दर ०-४ वर्ष र ५-१७ उमेर समूहमा क्रमश चार गुणा र ९ गुणा बढी रहेको छ भने बाँकी समूहमा उमेर बढ्दै जाँदा मृत्यु तथा अस्पताल भर्ना दर दुवै बढेको देखिन्छ जुन ८५ वर्ष वा सोभन्दा माथिको समूहमा १३ गुणा बढी रहेको छ।
नेपालमा २०७६ माघ ९ गते पहिलो कोरोना संक्रमित व्यक्ति फेला परेको थियो भने त्यसको करिब २ महिनापछि २०७६ चैत १० गते दोस्रो संक्रमित व्यक्ति पाइएको थियो। नेपालमा २०७७ जेठ १ गते सम्म संक्रमितको संख्या २४९ पुग्दासम्म कोरोना संक्रमणबाट कसैको ज्यान गएको थिएन। २०७७ असार १ गतेसम्म संक्रमितहरुको संख्या बढेर ६२११ पुग्यो, त्यस बेला रोगको मृत्युदर ०.३० प्रतिशत रहेको थियो। देशमा संक्रमण निरन्तर बढ्दै गयो तथापि असार महिनामा कुल मृत्युदरमा कमी आएको देखिन्छ। साउन १ गतेसम्म पुग्दा मृत्युदर ०.३० प्रतिशतबाट घटेर ०.२२ प्रतिशत पुगेको थियो।
सरकारले असारको दोस्रो साताबाट देशमा बन्दाबन्दीलाई खुकुलो पार्दै लग्यो। निजी सवारी साधनहरुको आवतजावत र मानिसको हिँडडुलमा उल्लेख्य वृद्धि भयो। बजार तथा अन्य सार्वजनिक स्थलहरु पनि खुल्दै गए जसको परिणाम भदौ १ गतेसम्म आइपुग्दा मृत्युदर बढेर ०.३९ प्रतिशत पुग्यो। त्यसैगरी लक्षण सहितका संक्रमितहरुको संख्यामा पनि वृद्धि भयो। नेपालका सहरी तथा ग्रामीण क्षेत्रहरुमा समुदाय स्तरबाट पनि संक्रमण देखिन थाल्यो। हाल काठमाडौं उपत्यका लगायत तराईका अन्य ठूला सहरहरुमा संक्रमण बढी देखिएको छ भने देशभर नै संक्रमण बढिरहेको छ। नेपालमा २०७७ भदौ १२ गतेसम्म आइपुग्दा कोरोना संक्रमणबाट हुने मृत्युदर ०.५३ प्रतिशत पुगेको छ।
नेपालमा सुरुका दिनहरुमा नयाँ संक्रमितभन्दा निको भएर जाने संक्रमितहरुको अनुपात उच्च रहेको थियो जसको परिणाम कुल संक्रमितको अनुपात बढे पनि सक्रिय संक्रमितहरुको संख्यामा कमी आएको थियो तर पछिल्ला दिनहरुमा निको हुनेको अनुपातमा नयाँ संक्रमितको संख्या उच्च रहेको छ। त्यसैगरी रोगको निको हुने अनुपात पनि पहिलाको भन्दा धेरै ढिलो देखिन्छ भने अर्कोतर्फ लक्षण सहितका संक्रमितहरुको संख्या बढ्नुको साथै अस्पताल भर्नादर पनि बढेको छ।
हाल अस्पतालहरुमा आइसियु र भेन्टिलेटरमा राखेर उपचार गरिने रोगीहरूको अनुपात पनि उल्लेख्य बढेको छ। त्यसैगरी देशका विभिन्न भागहरुमा क्वारेन्टिन र आइसोलेसनमा रहनेहरुको संख्यामा पनि वृद्धि भइरहेको छ। स्वास्थ्य सेवाहरुको अभाव हुनुको साथसाथै चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुमा पनि संक्रमणको दर बढिरहेको छ।
विश्वमा कोरोनाबाट कुल संक्रमित हुनेहरु र निको हुनेहरूमध्ये क्रमश ३-५ प्रतिशत र ४.६५ प्रतिशत मानिसको मृत्यु भएको छ भने नेपालमा यो प्रतिशत क्रमश: ०.९५ प्रतिशत र ०.५५ प्रतिशत रहेको छ। नेपालमा कोरोना संक्रमणबाट भएको मृत्युदर विश्व र एसिया महादेशको तुलनामा कम रहे तापनि सार्क मुलुकहरु माल्दिभ्स, श्रीलंका र भुटानको भन्दा बढी रहेको छ। नेपालमा हाल कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेकोले लक्षण सहितका बिरामीहरुको संख्या पनि वृद्धि भएको विज्ञहरुको दावी छ। नेपालमा पुरुष र महिलाबीचको संक्रमण अनुपात करिब ४:१ रहेको छ। त्यसैगरी मृत्यु हुनेहरुमध्ये करिब ८० प्रतिशतभन्दा बढी ४० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरु रहेका छन् जसमध्ये उमेर समूह ६१-८० र ८० वर्ष माथिका व्यक्तिहरूमा मृत्युदर क्रमश: ४.८४ प्रतिशत र १०.१८ प्रतिशत रहेको छ।
नेपालमा बन्दाबन्दी खुकुलो पारेपश्चातका दिनहरूमा कोरोना संक्रमण अनपेक्षित रुपमा बढिरहेको छ। कुल संक्रमित बढ्नुको साथै लक्षण सहितका संक्रमित बढ्नु र मृत्युदर बढ्नु नेपालका लागि थप चुनौती बन्दै गएको छ। सरकारले यस महामारीको अवस्थालाई सूक्ष्म रुपले विश्लेषण गरेर बढी प्रभावित क्षेत्रहरूमा लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। जस्तै सुरक्षा व्यवस्थालाई चुस्त पारी बन्दाबन्दी, निषेधाज्ञा र जनस्वास्थ्यका मापदण्डहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ। त्यसैगरी सरकारले भविष्यमा आउनसक्ने सम्भावित अवस्थालाई मध्यनजर गरी स्वास्थ्य पूर्वाधारहरूको विकास, जनशक्तिको क्षमता अभिवृद्धि, आवश्यक औषधि तथा उपचार सामग्रीको व्यवस्थापनमा केन्द्रित रहनुपर्छ। त्यसैगरी सरकारले आफ्नो स्वास्थ्य सूचना प्रणालीलाई सुदृढ गरी आवश्यक सूचना आमसमुदायसम्म सम्प्रेषण गर्ने र गलत सूचनाहरूको समयमै पहिचान गरी भ्रमहरूलाई समयमै चिर्न सक्नुपर्छ।
(भन्डारी पोखरा विश्वविद्यालयका सह–प्राध्यापक हुन्।)