काठमाडौं- बारबरा फाउन्डेशनले कोभिड-१९ को महामारी अग्रपंतिमा खटिएका डाक्टर, नर्स र सुरक्षाकर्मीलाई विशेष सम्मान गर्ने भएको छ।
फाउन्डेशनले अग्रपंक्तिमा खटिएर सेवा गरिरहेका काठमाडौं उपत्यका र देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कोरोना संक्रमणविरुद्ध खटिएका चिकित्सक तथा नर्सलाई दुई लाख नगदसहित सम्मान गर्ने जनाएको छ। त्यस्तै, सुरक्षाकर्मीलाई एक लाख नगदसहित सम्मान गर्ने जनाएको छ।
बारबरा फाउन्डेशनका अध्यक्ष सन्दुक रुइतद्धारा सोमबार जारी प्रेस वक्तव्यमा चिकित्सक तथा नर्सहरुको छनौट गर्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाको अध्यक्षतामा नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा लोचन कार्की र नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा गोमादेवी निरौला श्रेष्ठलाई निर्णयक समितिमा रहनका लागि आग्रह गरिएको जनाइएको छ।
बारबरा फाउन्डेसन विशेष सम्मान कोरोना रोग नियन्त्रणका लागि कार्यरत चिकित्सा सम्बन्धी संस्थालाई पनि प्रदान गर्न सकिने जारी वक्तव्यमा उल्लेख छ।
संकटको यस घडीमा कार्यरत चिकित्सक, नर्स र सुरक्षाकर्मीको मनोबल उच्च बनाउन मदत पुग्ने फाउन्डेशनले विश्वास लिएको छ।
‘कोरोना महासंकटको सुरुदेखि नै न्युनतम सुरक्षाका साधन जस्तै मास्क, पीपीईको अभावमा काम गरिरहेका डाक्टर, नर्स लगायत अस्पतालका अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीप्रति म उच्च सम्मान प्रकट गर्दछु । आज पनि स्वास्थ्यकर्मीहरु झन् उच्च जोखिममा काम गरिरहेका छन्,’ अध्यक्ष डा रुइतले वक्तव्यमा भनेका छन्।
विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य सम्बन्धी मापदण्दलाई पूर्ण रुपमा पालना गर्दै आफू, परिवार र समुदायलाई सुरक्षित राख्ने अभियानमा सरिक अध्यक्ष रुइतले आग्रह गरेका छन्।