स्वास्थ्यखबरले आजदेखि १० वर्ष पूरा गरेर एघारौं वर्षको यात्रा सुरु गरेको छ। यस यात्रामा सधैं हौसला दिने तपाईं सम्पूर्ण पाठक, लेखक, पेसाकर्मी, विज्ञापनदाता, व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी र शुभेच्छुकलाई धन्यवाद ज्ञापन गर्दछौं।
हामी यात्राको यो विन्दुमा आइपुग्दा विश्व एउटा संकट र सन्त्रासको भूमरीमा छ। कोभिड-१९ को यो दुष्चक्रको घेरोभित्र नेपाल र नेपाली पनि परेका छन्। देशको राजनीतिक-प्रशासनिक अवस्था, अर्थव्यवस्था र सामाजिक जीवन संकटको बाछिटाबाट मुक्त छैन। भय र अनिश्चितताको यस्तो अवस्थामा पनि हेल्प पब्लिकेशनले आफ्नो व्यावसायिक धर्म र दायित्वलाई सबैभन्दा माथि राखेको छ।
सञ्चारकर्मका आफ्नै प्रकारका चुनौती र ‘चार्म’ हुन्छन्। यसअघि नै विद्यमान चुनौतीमाथि थपिएको कोभिड-१९ सिर्जित चुनौतीबीच पनि हामी हाम्रा प्रिय पाठकलाई कहिल्यै निरास नपार्ने प्रतिबद्धता व्यक्त गर्दछौं। पत्रकारिताको मुल कर्म भनेकै राज्यमाथि प्रश्न गर्नु हो। कहीँ-कतै गलत भएको छ भने त्यसलाई उजिल्याउनु हो। विकृति र विसंगति देखाइदिनु हो। खबरदारी गर्नु हो। कतिपय अवस्थामा बाटो देखाउनु पनि हो। सूचना प्रवाहको यो जनपक्षीय अनुष्ठानमा हामी कहिल्यै पनि विचलित हुने छैनौं।
मासिक पत्रिकासँगै ७ वर्षदेखि हामी अनलाइन संस्करण www.swasthyakhabar.com मार्फत निरन्तर समाचार प्रवाहमा सक्रिय छौं। यसले हाम्रो उपस्थितिलाई अझ गाढा र फराकिलो बनाइदिएको छ। पलपलका स्वास्थ्य समाचार प्राप्त गर्ने पाठकको तिर्खा मेटिइरहेको छ।
पत्रकारिताको प्रभाव र विश्वसनीयता हाम्रा लागि सधैं प्राथमिकता र चासोका पक्षहरु हुन्। त्यसैले हामीबाट हुने मानवीय कमजोरी औंल्याइदिने र हामीलाई सधैं सुझाव दिने हाम्रा पाठक र सुभेच्छुकलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं। र, यस्तो पवित्र उपक्रमको निरन्तरताको अपेक्षा गर्दछौं। त्यसैले त हामी सधैं भनिरहेका हुन्छौं, पाठकहरुबाट प्राप्त विश्वास, उत्प्रेरणा र खबरदारी हाम्रा अमूल्य आर्जन हुन्।
वस्तुनिष्ठ, विश्वसनीय र गुणस्तरीय सामग्रीसँगै हाम्रो संविधानले दिएका नागरिकका सबै अधिकारहरुलाई सम्मान गर्छौं। समावेशी लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, नागरिकका मौलिक हक, मानव अधिकार, सुशासन र सीमान्तकृतका आवाजहरु नै हाम्रा मन्त्र थिए, छन् र हुनेछन्। यही मन्त्रलाई हृदयंगम गर्दै ताजा, सत्यतथ्य, खोजमूलक र विश्लेषणात्मक समाचार पस्कने हाम्रो अभियानलाई साथ दिन सबैमा सविनय अनुरोध गर्दछौं।
अन्त्यमा, खराब व्यक्ति र प्रवृत्तिलाई निरुत्साहित गर्ने हाम्रो प्रमुख उद्देश्य थियो। साथै यो क्षेत्रमा अमूल्य योगदान पुर्याउनेहरुलाई हौस्याउने दायित्व पनि हाम्रै रहेको महसुस गर्यौं। यही दायित्वबोधका कारण हामीले पहिलो वार्षिकोत्सवबाटै ‘हेल्थ अवार्ड’को थालनी गर्यौं। आमजनताको स्वास्थ्य हितमा कर्तव्यनिष्ठ भएर लागिपरेकाहरुलाई हामीले ‘स्वास्थ्य खबरपत्रिका हेल्थ अवार्ड’ मार्फत सम्मान गर्दै आइहेका छौं। तर यस वर्षको परिस्थिति विगतको जस्तो छैन। कार्यक्रम नै आयोजना गरेर ‘हेल्थ अवार्ड’लाई निरन्तरता दिन सक्ने परिस्थिति नरहे पनि हामी कोभिड-१९ को लडाइँमा अग्रपंक्तिमा खटिनुभएका सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई हाम्रो तर्फबाट सम्मान व्यक्त गर्न चाहन्छौं। यद्यपि, अहिलेको अवस्थामा उहाँहरुप्रति व्यक्त गरिने सम्मान, आदरभाव, उत्प्रेरणाका निम्ति जुनसुकै शब्दगुच्छा पनि अपुग हुन्छ भन्नेमा हामी जानकार छौं।
हामी तपाईंहरुको वाणी बन्छौं, सधैं-सधैं हामीलाई सम्झिरहनुहोला। हामीलाई पछ्याइरहनुहोला।
अनिल न्यौपाने
अध्यक्ष