काठमाडौं- नेपाल चिकित्सक संघले प्लाज्मा दान गर्ने व्यक्तिलाई सम्मान गर्ने निर्णय गरेको छ। कोरोना संक्रमणपछि निको भई प्लाज्मा दान दिने व्यक्तिहरुलाई प्रशंसापत्र सहित उच्च सम्मान गर्ने संघले निर्णय गरेको हो।
एक पिन्ट प्लाज्माबाट हजारौं मानिसलाई जोगाउन सकिने भन्दै संघले प्लाज्मा दान गर्न अपिल समेत गरेको छ। संघले एक विज्ञप्ति जारी गरी कोरोना उपचारका लागि प्लाज्मा थेरापी वरदान सावित भएको भन्दै प्लाज्मा दिएर हजारौंको ज्यान जोगाउन अपिल गरेको हो।
संघले संक्रमणबाट निको भएका व्यक्तिहरुले अपनाएको सहजगता, हौसला, संक्रमित हुँदा निम्तिएको मानसिक तनाव लगायतका अनुभव सार्वजनिक गरी प्लाज्मा दानबाट समाजमा पुनस्र्थापना गराउन सकिने सन्देश सहितको अभियान सञ्चालन समेत गर्ने जनाएको छ।
‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’ (सिपिटी) कोरोना भाइरस संक्रमणका बिरामीलाई गरिने एउटा उपचार विधि हो। कोरोना निको भइसकेको १४ दिनपछि रिपोर्ट नेगेटिभ आएका व्यक्तिहरुको रगतबाट छुट्याइएको एन्टिबडी (रोगसँग लड्ने तत्व) सहितको ‘प्लाज्मा’ (जुन रगतमा ५५ प्रतिशत हुन्छ) अर्को संक्रमित व्यक्तिलाई दिन सकिने विज्ञप्तिमा उल्लेख छ।