काठमाडौं- नेपाल चिकित्सक संघ र एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)बीच ३ बुँदे सम्झौता भएको छ।
संघका अध्यक्ष डा लोचन कार्की र अफिनका अध्यक्ष बसन्तकुमार चौधरीले बुधबार ज्वाइन्ट कल्सल्टिभ कमिटि गठन गरी अल्पकालिन र दीर्घकालिन योजना निर्माण गरी कार्यान्वयन गर्न दुई पक्षीय सम्झौता गरेका हुन्।
सो सम्झौतामा कोभिड-१९ मा अफिन र चिकित्सक संघले देशभर आफु मातहतका निजी अस्पतालमा कोभिड-१९बाट संक्रमित भएका चिकित्सकहरुका लागि आवश्यक बेड, आइसियु तथा भेन्टिलेटरसहितका बेड उपलब्ध गराउने निर्णय गरिएको जनाएको छ।
दुवै पक्षको सहकार्यमा कोभिड-१९ को बढ्दो संक्रमणबाट जोगिनका लागि अस्पतालमा हुने भिडभाड कम गर्न ओपिडी, इनप्यासेन्ट, कुरुवा र स्वास्थ्यकर्मी सम्बन्धी प्रोटाकल तथा गाइडलाइन तयार गर्ने कुरा उल्लेख छ।
यस्तै हाल वीरगंजमा निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुले तलबभत्ताको विषयलाई उठान गरी उपचार प्रक्रियामा सहभागी नहुने गरिआएको विषयप्रति गम्भीर छलफल भएको र महामारीका समयमा यस्ता क्रियाकलापलाई यथासक्य छिटो सामान्य बनाउनुपर्ने विषयमा दुबै संघ सहमत भई संयुक्त प्रयासमा आवश्यक सहजीकरण गर्ने निर्णय गरेको चिकित्सक संघले जनाएको छ।