काठमाडौं- नेपाल चिकित्सक संघले कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. सुजितकुमार साहको मृत्यु रहस्यम भएको भन्दै घटनाको छानबिन गर्न माग गरेको छ।
संघले शनिबार विज्ञप्ति जारी गर्दै सरकोकारवाला निकायले उक्त घटनाको सत्यतथ्य छानबिन गरी के कति कारणले घटना घटेको हो भन्ने बारे यथार्थ विवरण बाहिर ल्याउनका नेपाल सरकार तथा सरोकारवाला निकायसँग आग्रह गरेको छ।
भारतको मेदान्त अस्पतालमा कार्यरत डा साह केही दिनअघि र्मत भेटिएका थिए।
'छतबाट हामफालेर आत्महत्या गरेको भनी आएका समाचारले उक्त घटना रहस्यमय रहेको नेपाल चिकित्सक संघको ठहर छ,' संघका महासचिव डा बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'त्यसैले सरकोकारवाला निकायले उक्त घटनाको सत्यतथ्य छानबिन गरी के कति कारणले घटना घटेको हो भन्ने बारे यथार्थ विवरण बाहिर ल्याउनका लागि नेपाल सरकार तथा सरोकारवाला निकायले गहन भूमिका निर्वाह गर्न यस संघ आग्रह गर्दछ।'
डा साहको अप्रत्यासित र अकल्पनीय निधन भएको प्रति संघ गहिरो दुःख व्यक्त गरेको छ। साथै, परिवारजनमा धैर्य धारण गर्ने क्षमताको कामना गरेको छ।
डा साह भारतको गुरुग्राममा १६ गते मृत भेटिएका हुन्। डा साह भारतको हरियाणामा बस्दै आएका थिए।
डा साहको स्थायी घर सिरहा हो। उनले पोखराको मनिपालबाट एमबिबिएस गरेका थिए।
साहले चण्डीगढबाट सर्जरीमा विशेषज्ञता हासिल गरेका हुन् भने अल इन्डिया मेडिकल इन्टिच्युट (एम्स)बाट एमसिएच गरेका थिए।
साहको श्रीमती र एक छोरी छन्।