अछाम- जिल्ला अस्पताल मंगलसेन अछाममा दाँत सम्बन्धी सेवा सुरु भएको छ। विगत लामो समयदेखि सञ्चालनका लागि प्रयास गरिरहेको अस्पतालले हालै मात्र दाँतको समस्या भएका बिरामीका लागि सेवा सुरु गरेको।
भौतिक संरचना, आवश्यक सामग्री र जनशक्ति व्यवस्थापनपछि दन्तसेवा सेवा सुरु भएको अस्पतालले जनाएको छ। अस्पताल आफैंले सेवा सञ्चालन गरेपछि अछामका सेवाग्राहीलाई निकै टेवा पुग्ने जिल्ला अस्पताल अछामका डा मनोस्ट बिष्टले बताए।
अस्पतालमा १ जना डेन्टल हाइजेनिस्टले नै नियमित रुपमा बिरामीका लागि सेवा दिने उनले बताए। दाँतको प्राथमिक उपचार सहित किराले खाएको, भाँचिएको निकाल्ने, फोहार सफा गर्ने लगायतका समस्या अब सरकारी अस्पतालबाट सेवाग्राहीले सरकारी मापदन्ड अनुसार छुट सहित सेवा पाउने भएका छन्।
यसअघि जिल्ला अस्पतालमा दाँतको सेवा नहुँदा सेवाग्राहीले मंगलसेन र साफेबगरका निजी क्लिनिकका साथै बयालपाटा अस्पतालमा धाउनुपर्ने अवस्था रहेको थियो। अब जिल्ला अस्पतालमा सेवा सुरु भएकाले लामो समयदेखि समस्या भएका सबैलाई अस्पतालमै आउन डा बिष्टले आग्रह गरेका छन्।
गरिब, असहाय सहित विपन्न वर्गका लागि दाँतको उपचारमा धेरै पैसा खर्च गर्नुपर्ने बाध्यता अब हट्दै उनले बताए।