काठमाडौंं- एशोसियसन अफ प्राइभेट इन्ष्टित्युसन नेपाल (अफिन) ले नीजि ल्याबहरूको रिपोर्टको आधारमा बिमा नपाइने बिमा समितिको निर्णय विभेदकारी, असहिष्णु र खेदपूर्ण भएको बताएको छ
अफिनका अध्यक्ष बसन्तकुमार चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालय र मातहत निकायबाट अनुगमन, निरीक्षणका साथै आवश्यक सम्पूर्ण प्रक्रियागत रीत पूरा गरी स्वीकृति लिएर सेवा सञ्चालन गरिरहेका ल्यावको रिर्पोटका आधारमा बिमा नपाइनु अमानवीय निर्णय भएको बताएका छन्।
उनले यस्तो नीति निजी ल्याबहरूका लागि त गैरजिम्मेवार भएको र आमनागरिकलाई आफ्नो रोगको निदान गर्न पाउने नैसर्गिक अधिकारमा समेत बन्देज लगाएको आरोप लगाएका छन्।
कोभिड-१९को महामारीको अवस्था विना कुनै अवरोध सरल र सहजरूपमा संक्रमितको पहिचान गर्नुपर्ने अध्यक्ष चौधरीले विज्ञप्तिमा उल्लेख गरेका छन्।
‘तत्काल निर्णय लिई तत्काल कार्यान्वयन गर्नुपर्नेमा समयमै सञ्चालन अनुमति नदिने र राज्यको अनावश्यक झन्झटिलो प्रक्रिया पूरा गरी इजाजत प्राप्त ल्याबहरूको रिपोर्टलाई अहिले आएर मान्यता नदिने निर्णयलाई हतासपूर्ण, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायीपनको पराकाष्टाको रूपमा बु्झ्न सकिन्छ,’ अफिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
अफिनले राज्यले अङ्गीकार गरेको प्राइभेट, पब्लिक पार्टनरसिपको अवधारणाअनुरूप इजाजत प्राप्त निजी क्षेत्रलाई निर्वाधरूपमा कार्य गर्न पाउने अधिकारबाट वञ्चित गर्ने नीतिनियम निर्माण गर्ने कार्य अविलम्ब बन्द गर्न सम्बन्धित पक्षलाई अपिल गरेको छ।