काठमाडौं- कोरोनाका बिरामीको उपचारमा चाहिने प्लाज्मा थेरापीको लागि आवश्यक प्लाज्मा डोनेसनलाई प्रोत्साहन गर्न चौतारी नेपालले नेपाल चिकित्सक संघ र लायन्स क्लबसँग सहकार्य गरी देशव्यापी रूपमा कोभिड विनर अवार्ड अभियान सुरु गरेको छ।
सो अभियान अन्तर्गत प्रदेश ७ मा पनि कोभिड विनर सम्मान कार्यक्रम आयोजना गरिएको नेपाल चिकित्सक संघ प्रदेश ७ का संयोजक डा प्रमोद जोशीले बताए।
प्रदेश ७ मा उक्त कार्यक्रम रेडक्रस लगायत अन्य संघसंस्थाको सहयोगमा आयोजना गरिएको जानकारी अभियानका अभियन्ता डा हुलास अग्रवालले बताए।
प्रदेश ७ का सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सो कार्यक्रममा प्लाज्मा डोनरलाई सम्मान गरेका थिए। हाल ५ जना कोभिड निको भएर प्लाज्मा दान गरेका डोनरलाई सम्मानित गरिएको छ।
कोभिडका बिरामीसँग गरिने भेदभावका कारण रोग लागेर निको भइसके पनि मान्छेहरू प्लाज्मा दान गर्न खुलेर आउन सकेका छैनन्। हामी सबैले यो भेदभावविरुद्ध एकजुट भएर लागे प्लाज्मा डोनेसन बढ्ने र उपचारमा सहयोग पुग्ने निश्चित छ।
कोभिड विनर अवार्ड चौतारी नेपाल र नेपाल चिकित्सक संघले संयुक्त रूपमा आयोजना गरेको सम्मान कार्यक्रम हो। लायन्स क्लब मल्टिपल डिस्ट्रिक्ट ३२५ एटु अन्तर्गतका सम्पूर्ण लायन्स क्लब, बिम अफ हाप, लायन्स क्लब अफफ धरान घोपा, डक्टर्स अन कल, स्वास्थ्य खबरपत्रिका र हेल्थ पोस्ट नेपाल यस अभियानका सहयोगी रहेका छन्।