गौरव उपाध्याय
अहिले कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको छ। केही समययता नेपालमा पनि यो भाइरस अनियन्त्रित रुपमा फैलिइरहेको छ। पहिलो चरणमा नेपालमा देखिएको संक्रमण पिक, आर्टिफिसियल पिक थियो किनभने यो नेपालमा भएको संक्रमण नभई विदेशबाट आएका मानिसमा देखिएको हो। अहिलेको स्थितिमा संक्रमण समुदायस्तरमा फैलिएको र बल्ल यो वास्तविक नेपालमा भएको संक्रमण भएकाले अझै कति बढ्ने हो भन्ने निश्चित नभएको अवस्था छ।
नेपालमा अहिले बिरामीको बढ्दो क्रममा रहेका कारण हस्पिटलहरू पनि भरिभराउ हुन थालेका छन्। यस्तो अवस्थामा होम आइसोलेसन एउटा राम्रो विकल्प बन्दै गएको छ। तर होम आइसोलेसनमा ध्यान पुर्याउनुपर्ने थुप्रै कुरा रहेका छन्।
होम आइसोलेसनामा सर्वप्रथम संक्रमण थाहा भइसकेपछि आफ्नो परिवारमा र समाजमा आफूबाट अरुलाई संक्रमण नफैलियोस् भनेर पूर्ण रूपमा सजग हुनुपर्छ। त्यसैले होम आइसोलेसन बस्नुअघि आफ्नो छुट्टै बस्ने ठाउँ छ कि छैन? आफूले प्रयोग गर्ने चर्पी छुट्टै छ कि छैन? सबै कुरा सोचविचार गरेर मात्रै घरमै आइसोलेसनमा बस्नु उपयुक्त हुन्छ।
होम आइसोलेसनमा बस्दा कोरोनासँग नडराई तर होसियार भई उच्च मनोबल बनाउनुपर्छ। उच्च मनोबल बनाउनका लागि छरछिमेक, घरपरिवार, समाज, स्थानीय तह आदिको महत्वपूर्ण भूमिका रहेको हुन्छ।
पछिल्लो समय कोरोना संक्रमित व्यक्तिलाई समाजिक अपहेलना बढेका दृश्यहरु देखिँदैछन्। कोरोना लाग्नु कुनै अपराध होइन। त्यसैले सबै मिलेर समाजमा कोरोना संक्रमितलाई बहिष्कार नगरी सहज वातावरण बनाएर मनोबल बढाउने काम गर्नु जरुरी छ।
सामान्य ज्वरो, रुघाखोकी, थकान महसुस, स्वाद र गन्ध हराउनु जस्ता सामान्य लक्षणहरू देखिए आत्तिनुपर्ने अवस्था हुँदैन। तर अस्पतालका डाक्टरसँग समन्वय गरी उनीहरुसँग परामर्श लिएर आफ्नो लक्षण अनुसारका औषधि भने खानुपर्छ।
श्वास फेर्दा बेस्सरी छाती दुख्ने, उच्च ज्वरो आउने, रिंगटा लाग्ने, हात खुट्टा, ओठ निलो हुने, अक्सिजन स्याचुरेसन नाप्दा कम आए, बोली लर्बराए, श्वास फेर्न गाह्रो भए यी खतराका संकेत हुन् भनेर बुझ्नुपर्छ। त्यसैले तुरून्त अस्पताल जानुपर्छ। अझ पहिल्यैदेखि केही रोग भएका दीर्घ रोगीहरूले विशेष ध्यान पुर्याउनु आवश्यक छ।
होम आइसोलेसनमा बसेको व्यक्तिलाई खाना खानको लागि सँगै नराखी छुट्टै बसेको ठाउँमा लगिदिँदा उपयुक्त हुन्छ। खाना दिन जाँदा अन्य सदस्य र संक्रमित दुवैले मास्क लगाउनुपर्ने हुन्छ। संक्रमितले प्रयोग गरेका भाँडा साबुनपानीले पखाल्ने, घाममा सुकाइदिने गरे भाइरस मरेर जान्छ।
यसका साथै आइसोलेसनमा बसेका व्यक्तिलाई पोषिलो खानका साथसाथै फलफूल, पर्याप्त पानी, घरेलु खाना, घरेलु उपचार (बाफ लिने, तुलसी, निम, ज्वानो पानी, लसुन, अदुवा, बेसार खाने) र सरसफाइमा विशेष ध्यान दिनुपर्छ।
संक्रमितले शारीरिक व्यायाम तथा योग गर्दा राम्रो हुन्छ। यसले शरीर फुर्तिलो भई आत्मबलका साथसाथै प्रतिरोधात्मक शक्ति पनि बढ्छ। कोरोना भाइरसले विशेषगरी श्वासप्रश्वासमा असर गर्ने हुनाले चिसोबाट बच्नु नितान्त आवाश्यक छ।
होम आइसोलेसनमा बसेका व्यक्तिलाई घरका अन्य सदस्यले विशेष रेखदेख गर्नुपर्छ। घरपरिवारका सदस्यको अस्पतालसँग समन्वय भइराख्नु जरुरी छ।
संक्रमित भएर आइसोलेसनमा बसेका व्यक्तिले मात्र होइन, संक्रमण नभएका सबैले व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिँदै स्वास्थ्यका मापदण्ड अपनाउनु आवश्यक छ।