समृद्धि लामिछाने
कहिले बिहानको ४/५ बजे त कहिले मध्यरातको १२/१ बजे उसले फोन गरेर 'मेरो कोभिड ड्युटी सुरु भयो र अब म ५/६ घन्टा आइसियुमै हुन्छु, फोन उठेन भने नआत्तिनु है!' भन्दा मन भारी हुन्छ। आँखा आँसुले भरिन्छ अनि उसले फर्किएर फोन नगरेसम्म छटपटीका साथै डर लागिरहन्छ; मानौं ऊ विश्वयुद्ध नै लड्न गएको हो र कहिले के हुने हो थाहा छैन।
यसरी नै दिनहरु बितिरहेका छन्। सँगसँगै उसलाई केही भयो की भने भन्ने मेरो डर र त्रासले सगरमाथाको उचाई छुन लागेको छ। उसलाई थाहा छ, आफूलाई केही भइहाल्यो भने आमाबुबा, परिवार सम्हालिन सक्नुहुन्न र कसैले पनि सहयोग गर्ने छैनन्। तर पनि परिवारको माया र आशिर्वादलाई मनमा बोकेर ऊ आफ्नो ड्युटी खुसी भएर गरिरहेको छ। ६ घन्टा पिपिई लगाएर गर्मीले भत्भती पोलिँदै बिमारीको उपचारमा खटिएको हुन्छ।
तर, उसको ब्यथा ऊसँगै छ अनि समाजका मानिसको सोचाई उनीहरुसँगै। भन्छन्, फलानोको छोरा कोभिड अस्पतालमा कार्यरत छ रे, फलानोको घरमा छोराले टन्नै कमाउँछ रे, फलानोलाई त आनन्द छ। डाक्टरले देश लुट्ने भए अनि हामी चाहँ मर्ने भयौं। तर ती मानिसहरुलाई के थाहा, फलानोको छारोले ६/७ घन्टा पिपिई लगाएर ३८ डिग्रीको गर्मीमा पसिनाले नुहाएर बिरामीको उपचार गरिरहेको छ।
ड्युटीपछि पनि उसलाई भोकभन्दा प्यारो निन्द्रा छ। न उसलाई खानाको मतलब हुन्छ न आफ्नो स्वास्थ्यको; मतलब त केवल बिमारीको ज्यान बचाउनमा मात्र हुन्छ। उसलाई अब कसैको कुराको मतलब छैन, उसको लक्ष्य अहिले आफ्नो सेतो कोटको कर्तव्य पूरा गर्नु र कोटमा कसैलाई दाग लगाउन नदिनु बनेको छ।
समाचारमा डाक्टर कुटिएको, डाक्टरलाई आफ्नै घरमा पस्न नदिएको, डाक्टरलाई तलब नदिएर परिवार पाल्न गाह्रो परेको, डाक्टरको लापरबाहीले गर्दा बिमारीको ज्यान गएको जस्ता कुरा सुन्दा ऊ धेरै डराउँछ। मन उसको पनि भारी हुन्छ, आफ्नै देश आफ्नो लागि असुरक्षित रहेछ भनेरे महशुस पनि गर्छ। शारीरिक तनाव डिउटीमा ६ घन्टा पिपिई लगाएर काम गर्दा छँदैथियो तर समाचारको त्यस्तो खबरले मानसिक तनाव पनि थपिदिने काम गरेको छ। तर खै कस्तो मन हो उसको; डर, त्रास भएर पनि फेरि अर्को दिन ओठमा मुस्कान लिएर, परिवारलाई सम्झेर आफ्नो कर्तव्यतर्फ लम्कन्छ।
प्रजातन्त्र आएको देश हाम्रो; सोच्न र बोल्न सबैलाई छुट छ, त्यही पनि यस्तो महामारीको बेलामा डाक्टर भने आफ्नो ज्यानको बाजी लगाएर बिमारीको सेवा गर्नमै खुसी छ। जीवन-मरण आफ्नो हातमा हुँदैन र त्यसमा पनि बिमारी बचाउन इमान्दारीका साथ काम गर्छन् डाक्टरहरु। दिन-रात आफ्नो घरपरिवार नभनी बिमारीको ज्यान बचाउने डाक्टरहरुलाई कुटाइ र गालीको होइन; माया, सम्मान र तालीको खाँचो छ। हामीले जति नराम्रो गरे पनि, ज्यानमारा जस्ता शब्दहरु प्रयोग गरे पनि अन्तिममा हामीलाई बचाउने भगवान भनेकै ती डाक्टर हुन्। डाक्टरको सम्मान गर्न नसके हेलाको पात्र पनि नबनाऔँ। देशको मेरुदण्ड नै रहेन भने देश रहन सक्दैन भन्ने कुरा नभुलौँ।