माननीय मन्त्रीज्यू नमस्कार,
म तपाईंले सम्हाल्नु भएको मन्त्रालयलाई आफ्नो पेशागत अभिभावक मान्दै काम गरिरहेको एक स्वास्थ्यकर्मी हुँ। अहिले कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनबाट यो पत्र लेखिरहेको छु। आशा छ यो पत्रले तपाईंको पदको मानमर्दन गर्नेछैन।
हाल देश जटिल परिस्थितिबाट गुज्रिरहेको छ। यो महामारीको प्रभाव मानिसको स्वास्थ्यसँग सम्बधित भएकाले यति बेला तपाईंको दैनिकी कति व्यस्त, तनावयुक्त छ भन्ने म बुझ्न सक्छु। तपाईंले नेतृत्व गर्नु भएको मन्त्रालय कोरोना भायरस विरुद्धको लडाईंमा म पनि एक सिपाही हुँ। मजस्तै झन्डै ३० हजार स्वास्थ्यकर्मी निरन्तर लडिरहेका छ्न्।
मन्त्रीज्यू! हरेक दिन मन्त्रालयले आयोजना गर्ने मिडिया ब्रिफिङमा कोरोना नियन्त्रणमा गरिएका कार्य र सकारात्मक नतिजा सुन्न सधैं आम मानिस आतुर भइरहन्छ्न्। मजस्ता हजारौं स्वास्थ्यकर्मी भने हामीलाई प्राप्त हुने निर्देशन र हाम्रो मनोभावनालक्षित सम्बोधन कुरिरहेका हुन्छौं।
आम मानिसको मानसिकता कोरोना भाइरसले गिजोलिरहेको अवस्थामा विभिन्न सञ्चारमाध्यममार्फत् तपाईंको नाम जोडिएर आएका भ्रष्टाचार, अनियमितता, विवादास्पद अभिव्यक्ति, फितलो व्यवस्थापन आदि कुरा सुनिरहदा दिक्क मान्नुबाहेकको विकल्प हामीसँग छैन। एक शालीन र उच्च छवि भएको व्यक्तिमाथि लागेको यी आरोप कति सही हो भन्ने कुरा भविष्यमा प्रमाणित होला। महामारीको सुरुवाती दिनदेखि हाल 'एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था कार्यक्रम सन्चालन कार्यविधि २०७७' आइपुदासम्म स्वास्थ्यकर्मीहरूप्रति मन्त्रालयको धारणा बाहिरिइसकेपछि यो पत्र तपाईंलाई नलेखी बसिरहन सकिनँ।
मन्त्रीज्यू! कोरोना भाइरसको नियन्त्रण र उपचारमा तपाईंसँगै जोडिएर कुन कुन पदमा, देशको कस्तो कस्तो ठाउँबाट कुनकुन संस्थाबाट चिकित्सक/ स्वास्थ्यकर्मी खटिरहेका छन् भन्ने कुरा मन्त्रालयको टिमलाई न्यूनतम जानकारी पनि रहेनछ। यो लडाईंमा खटिएका स्वास्थ्यकर्मीहरूको मनोभावनामा ठेस लागेको छ भन्ने कुरा बुँदागत रुपमै म तपाईंलाई स्मरण गराउन चाहन्छु।
१. कोरोना महामारीको नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिमका आधारमा वर्गीकरण गर्दा मजस्तो एउटा गाउँको स्वास्थ्य चौकी मा काम गर्ने हेल्थ असिस्टेन्ट, अहेब, अनमी, कासजस्ता कर्मचारी जोखिमको तेस्रो तहभित्र पनि समाबेश गरिएन। किन गरिएन भन्दा जोखिममा छैनन् भनेर तपाईंका सल्लाहकारले आँखा छोपिदिए होला। वा अरु कुनै बाध्यता थियो, त्यो यहाँलाई थाहा होला। उपचारमा संलग्न चिकित्सक र केही स्वास्थ्यकर्मीलाई फ्रन्टलाइनर मानी सोही बमोजिम निर्देशिका जारी गरियो। उनीहरुलाई जोखिम भत्ता दिने भनेर भनियो। त्यस्को व्यवस्थापनको सबै जिम्मेवारी स्थानीय तहलाई दिने भनियो। तर स्थानीय तहलाई बाध्यताकारी हुने गरी परिपत्र गरिएन, त्यसले गर्दा केन्द्रले स्थानिय तह र स्थानीय तहले केन्द्रलाई देखाउँदै आलटाल भै नै रहेको अवस्था छ।
यसबीच कुनै कुनै स्थानिय तहले धेरथोर आफ्नो मातहतमा रहेका कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिएका छन्। देशकै नमुना नगर/महा नगरपालिकाले स्वस्थ्यकर्मीलाई जोखिम भत्ता नदिई प्रशासनका कम्रचारीहरूलाई बाँढेको समाचार बाहिरिएका छन्। यसको कारण स्थानीय तहलाई परिपत्र नगर्नु र स्वास्थ्य चौकी/ प्राथमिक स्वास्थ्य केन्द्रलाई 'बायस' गरी केन्द्रको संस्था, केन्द्रको कर्मचारीलाई मात्र कोरोना महामारीमा खटिएका छन् भन्ने भ्रम तपाईं र तपाईंको टिममा रहेको पाइयो। अझ स्पष्ट रूपमा भन्दा स्थानीय तहलाई गरिएको विभेद थियो। ठूला अस्पतालले ज्वरो आएको बिरामी आउँदा ढोका बन्द गरेर बसिरहँदा गाउँगाउँका स्वास्थ्य चौकीले नियमित सेवा प्रदान गरिरहेका छन्।
संकास्पद व्यक्ति को खोजी गरी क्वारेन्टाइनमा खटिएका, पोजेटिभ देखिएकाहरुलाई प्रत्येक्ष भेटेर उपचार सल्लाहसुझाव र कन्ट्याक्ट ट्रेसिङ गर्ने, विभिन्न संस्था समूहलाई जागरूप गराई सचेतना फैलाउने आदि काम गाउँगाउँका स्वास्थ्य्कर्मीले गरेका हुनाले पनि संक्रमण नियन्त्रणमा ठूलो सहयोग पुगिरहेको छ। तर कसरी छुट्याउन सक्नुहुन्छ ती संस्थामा काम गर्ने स्वास्थ्यकर्मी हरुलाई? फेरि स्मरण गराएँ, जोखिममा नहुने भन्नुभएको म एउटा स्वास्थ्य चौकीको कर्मचारी नियमित सेवामा रहँदारहँदै कति बेला संक्रमित भएँ थाहा पाइनँ। हो, पक्कै पनि उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीका तुलनामा हामी कोभिड व्यवस्थापनमा कम खटिने हामी थियौं होला। तर हाम्रो सक्रियता, हाम्रो मेहनत, हाम्रो लगनशीलतालाई नै बेवास्ता गर्ने मन्त्रालयको त्यो निर्णयहरुले स्वास्थ्यकर्मीहरुको मनोभावनामा गहिरो ठेस लागेको छ।
२. स्वास्थ्य सुरक्षा सामग्री खरिदमा अर्बौं रूपैयाँ भ्रष्टाचार भयो भन्ने सुनियो। जेसुकै होस् तर हामीले सुरक्षा सामग्री पाउने भनेर यो लडाईंमा डटेर लड्ने संकल्प गरेका थियौ। तर हामी स्वास्थ्यकर्मी फेरि पनि निराश हुन पुग्यौं। सानासाना बच्चाहरुलाई काखमा राखेर खोप लगाउने स्वास्थ्यकर्मी एक जोर सर्जिकल माक्स धुँदै लगाउन बाध्य भएका छौं। फिभर क्लिनिक संचालन गरेका, क्वारेन्टाइनमा खटिएकाहरु गुणस्तरीय पिपिईको अभावमै काम गरिरहे। अब फेरि नभनिदिनुस् किन चाह्यो पिपिई? भात पकाउदा नि पिपिई लगाउने हो र? रुमालको माक्स, पानी पिउने बोतल्को फेस सिल्ड, पलास्टिक को पिपिई लगाएर भए नि हामी स्वास्थ्य्कर्मी खटिरहेका छौं मन्त्रीज्यू। अब ती सहरका सुकिलामुकिलाको घेराबन्दीलाई तोडेर गाउँगाउँमा हजारौं कर्मचारी कसरी काम गरिरहेका छन् हेर्दिने र एक वचन सोध्दिने पो हो कि मन्त्री ज्यु? आफ्नो अभिभावकबाट आड, भरोसा, सान्त्वनाका शब्द मात्र पाए पनि काम गर्ने हौसला बढेर जान्छ। हामी अझै पनि स्वास्थ्यकर्मीहरूलाई सम्बोधन गर्दै, 'पहिले आफू सुरक्षित रहनुस्। आवश्यक सुरक्षा सामग्री प्रयोग गर्नुस्। मन्त्रालयले सोधभर्ना गर्नेछ' भनिदिनुस्। यो लडाईंमा मा थप उर्जाका साथ कार्यसम्पादन गरेर देखाउने छौं।
३. हालसालै मन्त्रालयका प्रवक्ताबाट बाहिर आएको 'एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था सन्चालन कार्यक्रमसम्बन्धी कार्यविधि २०७७'मा चिकित्सकहरुलाई तलबको सात गुणादेखि १० गुणासम्म भत्ता दिन सकिने भन्ने कुरा सुनियो। सरकारी चिकित्सकहरु निजी संस्थामा काम गर्ने र गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न यो कदमले केही सकारात्मक नतिजा त पक्कै ल्याउला। तर स्वास्थ्य क्षेत्रमा योग्दान गरिरहेका ३० हजार स्वास्थ्यकर्मीलाई प्रोत्साहनको निम्ति केही पनि नगरी कुल १६ सय चिकित्सकलाई मात्र केन्द्रित गरी यस्तो योजना ल्याउँदा फेरि पनि म जस्ता न्यून तलबमा गुजारा गरेर देशको सेवा मा तल्लीन स्वास्थ्यकर्मीको मानसिकतामा कस्तो असर पर्ला?
एक बिरामी रोगबाट निको हुन कति जना जनशक्ति खटिएका हुन्छ्न्, चिकित्सकले मात्र यो सबै सम्भव भएको छ त? म यसो भनिरहँदा चिकित्सकज्युहरुको योगदानलाई निरुत्साहित गर्न खोजेको होइन। लाखौं खर्च गरेर पढेका चिकित्सकहरुलाई २ सयदेखि ३ सय ५० प्रतिशत भत्ता मात्र होइन, अन्य सुविधा पनि थपिँदा राम्रो कुरा हो। त्यसमा आपत्ति भएन तर समग्र स्वास्थ्यकर्मीलाई राहत मिल्ने गरि योजना मन्त्रालयले ल्याओस्। एउटा स्वास्थ्य चौकीको मातहतमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेविका र उहाँहरुले टोल टोलमा गठन गर्ने आमा समूहमा लगानी गर्नुस् मन्त्रीज्यू। स्वस्थ समाज हुँदै स्वस्थ देश निर्माण हुन सक्छ। सधैं केन्द्रमै केन्द्रीकृत हुने केन्द्रकै संस्था, केन्द्रकै कर्मचारीमा मात्र लगानी गर्ने हो भने यस्ले संघीयताको मर्ममाथि नै प्रहार गर्दैन र?
होइन भने स्वास्थ्यका कार्यक्रम, स्वास्थ्यमा हुनपर्ने न्युनतम लगानी र आवश्यकतासम्बन्धी प्रदेश र स्थानीय तहमा स्पष्ट परिपत्र तयार गरिदिनुस्। एक पटक मात्र अनि हेर्नुस्, खस्किएको स्वास्थ्यका सूचकहरु सुधारिने छ्न्।
४. कोरोना महामारिको नियन्त्रणमा र उपचारमा खटिएका स्वास्थ्यकर्मीमा दिन प्रतिदिन कोरोना संक्रमण बढ्दो गतिमा छ। निजी क्षेत्र र सरकारी सेवामा रहेका जति पनि स्वास्थ्यकर्मी छ्न्, उनीहरुको हाल एउटै समस्या छ, त्यो हो आफ्नो परिवारको स्वास्थ्य। विदेशमा चिकित्सक/स्वास्थ्यकर्मीले जागिर छाडे, स्वास्थ्य संस्थामा आएनन् भन्ने समाचार सुनियो। तर त्यस्तो अवस्था हाम्रो देशमा सुनेका छैनौं। यो विषम परिस्थितिमा हामी सबै इमान्दारिताका साथ आफ्नो कर्म गरिरहेका छौं।
सधैं ड्युटी सकेर फर्कंदा घरमा भएका आफ्ना बालबच्चा, वृद्ध बा-आमा सँगसँगै बसिरहदा निकै छट्पटी हुन्छ। मेरो कारण मेरो घर परिवारमा समस्या आउँछ कि भनेर पीडा हुन्छ। हिजो मेरो घर छेउमा स्वास्थ्यकर्मी छन् भनेर मख्ख पर्ने छिमेकी बेलाबेला प्रेसर र स्वास्थ्य सल्लाह लिने छिमेकी आज आफ्नो घरतिर हेर्दा पनि नहेरिदिए हुन्थ्यो, आफ्नो घरतिर फर्केर सास पनि नफेरिदिए हुन्थ्यो झै गर्छन्।
हामी कति धेरै मानासिक यातनाबाट गुज्रँदै जानू पर्ने हो? यस्तो अवस्थामा कति दिन स्वास्थ्यकर्मी काममा रहिरहलान् र तसर्थ यस्तो समस्याको न्यूनीकरण गर्न निजी अस्पतालको हकमा सोही अस्पतालले र सरकारी सेवामा रहेकाहरुको हक मा स्थानीय, प्रदेश वा केन्द्र कुन मातहतको कर्मचारी हो, आफ्नो कर्मचारीको खान र बस्नको उचित व्यवस्थापन तुरुन्त गर्नुपर्ने आवश्यकता छ मन्त्रीज्यू।
यस्ता थुप्रै समस्या, वितृष्णाबाट गुज्रँदै हामी अहिलेसम्म अविचलित रूपमा यो विषम परिस्थितीमा आफ्नो कर्म गरिरहेका छौं। यो रोगको व्यवस्थापनमा स्थानीय तहमा विभिन्न टोली गठन गरी काम गरिरहेका छौं। रोग व्यवस्थापनमा जनस्वास्थ्यकर्मीहरुसँग सुरुका दिनमा परामर्श गरी सिआसिटिटी गठन हुँदा, कार्यविधिहरु बन्दा, आरआरटी गठन हुँदा, जोखिम भत्ताबाट प्राप्त हुन्छ भन्दा विभिन्न संघ-संस्था बाट सुरक्षा सामग्री सहयोग र खरिद भैरहँदा, सामान्य मानिस आक्रान्त भै राज्यले केही गरेको छैन सुतेर बसेको छ भन्दा त्यस्को प्रतिरोध गर्दै आश्वासन दिँदै गरेका थियौं।
यो महामारीको मुखमा आएर सम्हाल्नु भएको मन्त्रालय र तपाईंको व्यक्तित्वलाई उच्च सम्मानले सलाम गर्ने यी हात आज सरकारको व्यवहार देखर, समाजबाट अपहेलित भएको सुन्दा, हजारौं स्वास्थ्यकर्मीको मनोभावनामा ठेस लाग्ने गरी एकपछि अर्को गतिविधि सुनिरहँदा सिंहदरबारजस्तो देशको सर्वोच्च स्थानमा बसेर सानो देशको सीमित क्षेत्रसम्म पनि नजर नपुग्दा ती हातका कम्पनले शिरबाट हटा भन्छ मन्त्रीज्यू।
धन्यवाद !!
(लेखक नवीन पराजुली हेल्थ असिस्टेन्ट हुन्)