दीपा पौडेल
प्युठान- प्युठान जिल्लामा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट (बिएनएमटी) ले स्वास्थ्यकर्मीको लागि मेडिकलजन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
कोरोना महामारीको आपतकालीन समयमा अग्रपंक्तिमा रहेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी समेत संक्रमित हुन थालेपछि स्वास्थ्यकर्मीको सुरक्षाको लागि ८ लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री बिहीबार स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीलाई हस्तान्तरण गरिएको हो।
बिएनएमटी नेपालगञ्जका क्षेत्रीय कार्यक्रम प्रबन्धक गंगाराम बुढाथोकीले उक्त व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरेका छन्। जिल्लाका ९ वटै स्थानीय तहहरुमा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पुग्ने गरी १ सय २५ सेट पिपिई, १ हजार थान एन९५ मास्क, १० हजार थान सर्जिकल मास्क, ६२ लिटर सेनिटाइजर र १ सय ५० सेट हाइजिन किट प्रदान गरेको प्रबन्धक बुढाथोकीले जानकारी दिए।
पहिलो चरणमा स्वास्थ्य कार्यालय प्युठानलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री, दोस्रो चरण अन्तर्गत जिल्लामा रहेका कुष्ठरोग तथा क्षयरोगका १ सय ७६ जना बिरामीलाई पोषणमा कमी नहोस भन्ने उद्देश्यले खाद्यान्य सामग्री वितरण गरेको बिएनएमटीले तेस्रो चरण अन्तर्गत स्वास्थ्यकर्मीलाई लक्षित गरी सामग्री हस्तान्तरण गरेको हो।
अग्रपंक्तिमा रहेर काम गर्ने सवै स्वास्थ्यकर्मीको मनोबल उच्च बनाई काम गर्न सहज होस भन्ने उद्देश्यले मेडिकल जन्य सामग्री हस्तान्तरण गरेको प्रबन्धक बुढाथोकीले बताए।
कोरोना भाइरस संक्रमणको उच्च जोखिममा सबै नागरिक भए तापनि पछिल्लो समय स्वास्थ्यकर्मीहरु अत्यधिक मात्रामा संक्रमित हुन थालेपछि उहाँहरुको हौसला बढाउन आफूहरुले सामग्री हस्तान्तरण गरेको उनले बताए।
प्युठानमा अहिलेसम्म १० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्। बिहीबारसम्म ४ सय ६० जना कोरोना संक्रमित भएका छन्। निको भएर घर जानेको संख्या ४ सय ४४, २ जनाको मृत्यु भएको छ भने १४ जनाको स्थानीय तहमा रहेका आइसोलेसनमा उपचार भइरहेको छन्। ५ हजार ३१ जनाको पिसिआर गरिएको छ। पिसिआर गरेका १ सय ७१ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।