काठमाडौं- भेरी अस्पतालमा निर्माण गरिएको कोरोना विशेष अस्पताल बिहीबारदेखि सञ्चालनमा आएको छ। एक कार्यक्रमबीच प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललले सो अस्पतालको उदघाटन गरेका हुन्। त्यस अवसरमा प्रदेशसभा सदस्य आइपी खरेल र विजय यादवको पनि उपस्थिति थियो।
मन्त्री बरालले कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले सबैको सहयोग खोजेको उल्लेख गर्दै यो महामारीसँग लड्न हरसम्भव प्रयास गरिने बताए। कोरोना विशेष अस्पतालमा ८ आइसियुसहित ७२ शैय्या रहेको छ। निकट भविष्यमै अस्पताललाई १०० शंय्याको बनाइने कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।
यसअघि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा शैय्या अभाव तथा दिगो व्यवस्थापनको समस्यापछि भेरी अस्पतालमा कोरोना विशेष अस्पताल बनाउने निर्णय गरिएको थियो। सोही निर्णयानुसार प्रदेश सरकार र यहाँका सङ्घ–सस्थालगायतको सहयोगमा कोरोना अस्पताल सञ्चालनमा ल्याइएको छ।
खजुरास्थित क्यान्सर अस्पताल, कृषि तालिम केन्द्र, लायन्स डेन्टल अस्पताल, कृृषि विकास केन्द्र पिपरीलाई आइसोलेसन सेन्टर बनाइएको छ। रासस