डडेल्धुरा- डडेल्धुरा अस्पतालले दुई हजार पाँच सय रुपैयाँमा पिसिआर जाँच गर्ने भएको छ। आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकका लागि अस्पतालले जाँच गरिने जनाएको छ।
यसअघि अस्पतालले आपत्कालीन अवस्थामा एक घण्टाभित्र पिसिआर रिपोर्ट दिने जनाएको थियो। स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको पत्र र अस्पताल विकास समितिको निर्णयानुसार सो शुल्कमा पिसिआर जाँच गर्न सकिने अस्पतालले जनाएको छ।
साधारण अवस्थामा नेपाल सरकारले जाँच गरिरहेको परिधिभित्र नपरेकाहरुलाई सो शुल्कमा पिसिआर जाँच गर्न सकिने अस्पतालका मेसु जगदीशचन्द्र विष्टले बताए।
डडेल्धुरा अस्पतालमा हाल तीन कोरोना भाइरसका सक्रिय संक्रमित छन्। दुई सातायता अस्पतालमा भर्ना भएका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र बिहीबार दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए।
यसअघि काठमाडौंकाे केएमसी अस्पताल र धनगढीको सेती अस्पतालले पनि २५ सय रुपैयाँमा पिसिआर परीक्षण गर्न थालेका छन्। सरकारले भने हाल ४ हजार ४ सय रुपैयाँ लिन सकिने व्यवस्था गरेको छ। रासस