काठमाडौं- प्रेस काउन्सिल नेपाल र नेपाल चिकित्सक संघबीच मेडिकल इथिक्स र जर्नालिजम इथिक्सका विषयमा समयसापेक्ष पाठ्यक्रमसहित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवासम्बन्धी न्यूनतम रुपमा आवश्यक प्राविधिक ज्ञान र प्रयोग हुने आवश्यक औजार, मेडिकल जर्नलहरु लगायत मेडिकल इथिक्स र जर्नालिजम इथिक्सका विषयमा समयसापेक्ष पाठ्यक्रमसहित प्रशिक्षण पुस्तक तयार गर्ने, देशका विभिन्न स्थानमा स्वास्थ्य पत्रकारिता गर्न इच्छुक सञ्चारकर्मीहरुका लागि पशिक्षण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको हो।
चिकित्सा क्षेत्रको संवेदनशीलता र पत्रकारिताको धर्मप्रति सचेत र संवेदनशील बनेर स्वास्थ्य क्षेत्रका विषयवस्तुमा रिपोर्टिङ, लेखन र प्रस्तुतीकरणप्रति प्रतिवद्ध सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि उक्त सहकार्य गर्ने सहमत भएको जनाइएको छ।
उक्त सम्झौताले पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्ने मुख्य जिम्मेवारी प्राप्त नियमकारी निकाय प्रेस काउन्सिल नेपालको कार्यक्षेत्र र जिम्मेवारीको सम्मान गरिने कार्यले नागरिकको संविधानप्रदत्त स्वास्थ्य हकको रक्षा एवं प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ।
नेपाल प्रेस काउन्सिलको तर्फबाट कार्यवाहक अध्यक्ष किशोर क्षेष्ठ र चिकित्सक संघको तर्फाबाट डा लोचन कार्कीले शुक्रबार १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षण गरेका छन्।